नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ मा बस्ने

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ मा बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक सकिएको छ । आजको बैठकमा दुबै अध्यक्षको प्रस्तावलाई छलफलमा लगिएको थियो ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उपस्थित सदस्यहरुलाई दुबै अध्यक्षका प्रस्ताव वितरण गरिएको र यसलाई अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक मंसिर २८ गते बस्ने भएको छ ।

नेकपाभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो ।

यस अघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सङ्कट निवारणबारे स्थायी कमिटीमा छलफल हुने जानकारी दिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि कुनै निर्णय हुन सकेन ।

मङ्सिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्ताव पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

पछिल्ला समय मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।

Logo