आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले समसामयिक बिभिन्न बिषयमा धारणा राखेका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकको सुन्य समयमा बोल्दै सदस्यहरुले क्षेत्रगत समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभा सदस्य शेर बहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजनाहरुको निर्माण कार्य यथासिघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । निरन्तररुपमा पहिलादेखि चलिआएका परियोजनाहरुमा केन्द्रबाट रकम प्रदेशलाई हस्तान्तरण गरि प्रदेश अन्र्तगत राखिएका तीनै परियोजनालाई अहिले केन्द्रबाट तत्काल अघि नबढाउनु भनी निर्देशन भएको भन्दै उहनले परियोजनाहरुको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउन माग गरे । स्थानीयतहमा कयौ पदहरु रिक्त रहेको भन्दै उनले उपनिर्वाचनको तत्काल व्यवस्था गर्न माग गरे ।
राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सरकारले आफू अनुकुलका विषयमा मात्रै संसदीय सर्वोच्चताको कुरा गर्ने गरेको भन्दै उनले प्रतिवेदन सार्वजनिक नभएको प्रति आपत्ती जनाए । छलफल नगरि आयोगले बुझाएको प्रतिवेदनलाई आधार बनाएर कानुन ल्याइयो भने आफूहरुलाई त्यो मान्य नहुने भन्दै उनले आयोगको प्रतिवेदनमाथि संदनमा छलफल चलाउन माग गरे । सरकारले यसपटक पनि शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गर्यो भने त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी उनले दिए । उनले आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नका लागि सरकारलाई रुलिङ गर्न सभाध्यक्षसंग माग गरे ।
राष्ट्रियसभा सदस्य चक्र प्रसाद स्नेहीले वाईड वडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।
राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।
राष्ट्रियसभा सदस्य विन्दा देवी आले मगरले चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन भएको भन्दै बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराइन ।
राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले संसद सचिवालयमा पानी पीउनका लागि राखिएका प्लाष्टिकका गिलास हटाई कागजको गिलास प्रयोगमा ल्याउन सचिवालयको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीलेले मुलुकभरका क्रशर उद्योगहरुलाई अनुगमन गरि तत्काल मापदण्ड भित्र राख्न माग गरे ।































प्रतिक्रिया