काठमाडौँ । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय ९२ बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशकसँग अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको छ ।
‘पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर राज्यको लगानीमाथि गम्भीर घात गरेको र अभिभावकका सपना कुल्चिने दुस्प्रयास गरेको छ । विद्यार्थीको भविष्यसँग, विवेकसँग, जवानीसँग, समय र श्रमसँग खेलबाड गरेको छ । राज्यकोष दुरुपयोग गरेको छ । यसमा संलग्न जिम्मेवार, विषय समितीहरु, व्यक्तिहरु तथा संयन्त्रहरुको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ । तत्काल पाठ्यपुस्तकमा भएगरेका कमिकमजोरी सच्याउन छानबिन गरी २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएर मात्रै प्रकाशित र वितरण गरिनुपर्छ। पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले सरकारी डकुमेन् प्रतिको विश्वास टुटेको छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
साथै विसं २०७८ कार्तिक–मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्याङ्क राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भइसकेको जानकार नहुनु, नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको विषय यो पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुखद भएको जनाएको छ ।





























प्रतिक्रिया