नेपाली कांग्रेसले आज सोमबार देशभर शक्ति प्रदर्शन गर्दैछ । शक्ति प्रदर्शनका लागि नेताहरु सम्बन्धित जिल्लामा पुगिसकेका छन्।
शक्ति प्रदर्शनका लागि कांग्रेसले १६ वटा मुद्धा बोकेको छ। जसमा चर्चित वाइडबडी प्रकरणदेखि ३३ किलो सुन काण्ड समेत रहेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो ।
काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आइतबार संसद बैठकमै सरकारलाई चुनौती दिँदै भनेका थिए। उनले भनेको थिए, – “प्रतिपक्षी कहाँ छ भनेर अब काँग्रेसले सडकदेखि सदनसम्म देखाउँछ ।”
के के हुन् १६ मुद्दा ?
१, अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।
को नेताले कहा संवोधन गर्दै ?
– वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्दैछन् ।
–उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् ।
–महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्।
–पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।
–पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा सम्वोधन गर्दैछन् ।
–केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्।
–केन्द्रीय सदस्य गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।
–केन्द्रीय सदस्य नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् ।
केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।
सरकारको विरुद्धमा माघ १३ गते बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया