काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने बताएका छन् ।
प्राज्ञ समूहद्वारा आज काठमाडौँमा आयोजित प्राज्ञिक विमर्श कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका हुन् ।
त्रिभुवन विश्वविद्यालय मात्र नभई नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘व्यक्तिगत रूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयको श्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ ।’
यस्तै, महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिना प्रकरणमा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।





























प्रतिक्रिया