काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । विगत १६ दिनदेखि अनसरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार उदासिन रहेको भन्दै आन्दोलनको घोषणा गरेको हो । संघले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई ३ दिनको अल्टिमेटम दिएको छ ।
संघले आन्दोलनका कार्यक्रमलाई देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा संघका सम्पूर्ण शाखा कार्यालयहरूले सोही अनुरूप कार्यान्वयन गर्नूर गराउनू भन्ने आग्रह गरेको छ।
प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएकोले चिकित्सक संघले भत्र्सना गरेको छ ।
आन्दोलनका कार्यक्रमहरू :
१) आजको मितिले ७२ घण्टाभित्र नेपाल सरकारले वार्ता समिति गठन गरी डा. गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग जोडदार माग गर्दै सोका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आ-आफ्नो तर्फबाट नेपाल सरकारलाई दबाब दिने ।
२) त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत देशभरका मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले घोषणा गरेको आन्दोलनप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको ।
३) यदि नेपाल सरकारले आजको मितिले ७२ घण्टाभित्र डा. गोविन्द केसीको जीवन रक्षाका लागि ठोस कदम अगाडि नबढाएको खण्डमा मिति २०७५ माघ १३ गते आइतबार दिउसो १:०० बजे काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रांगणमा उपस्थित भई थप आन्दोलनको स्वरूपबारे बृहत छलफल गर्ने निर्णय गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि अनुरोध गरिन्छ। साथै, संघका सम्पूर्ण शाखा कार्यालयहरूले आफूसँग सम्बन्धित शाखा कार्यालयमा जम्मा भई आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र केन्द्रीय कार्यालयले गरेको निर्णयलाई यथोचित कार्यान्वयन गर्ने/ गराउने।





























प्रतिक्रिया