पर्यटक बस राख्नका लागि छुट्टै बसपार्कको माग

पर्यटक बस राख्नका लागि छुट्टै बसपार्कको माग

केन्द्रबिन्दु
102
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै ‘पर्यटक बसपार्क’ आवश्यक रहेकोमा जोड दिएका छन् ।

काठमाडौँस्थित स्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकतामा जोड दिएका हुन् ।

उनले भने, ‘नेपाल पर्यटकीय दृष्टिकोणले धनि देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसको निर्माणका लागि पहल गर्छु ।’

टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौँको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवर्द्धका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको आवश्यकता रहेको बताए । उनले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गरे ।

नाट्टाको टुरिस्ट बस पार्क व्यवस्थापन समितिका सल्लाहकार समेत रहेका पर्यटन व्यवसायी लक्ष्मण पन्थीले नेपालको पर्यटन प्रवर्द्धका लागि टुरिस्ट बस पार्क र स्थल मार्गको पनि राम्रोसँग व्यवस्थापन गर्नुपर्ने कुराको जोड दिँदै मन्त्रीले समय दिएर चासोका साथ हेरिदिएकोमा धन्यवाद दिएका छन् ।

टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौँबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गरे ।

टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुलुकको राजधानी काठमाडौँबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताए ।

हाल मुलुकको राजधानी काठमाडौँबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् ।

Logo