काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।
शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन आज दिउँसो ३ बजे बालुवाटार बोलाईएको हो ।
पुस मसान्तभित्र एकीकरण प्रक्रिया सक्ने गरी नेकपाले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन रघुवीर महासेठ सदस्य छन् ।
कार्यदलले जिल्ला र स्थानीय तहको एकीकरणको बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पार्ने अधिकार पाएको थियो । कार्यदललाई पुस मसान्तभित्र प्रस्ताव तयार पार्न समय निर्धारण गरिएको छ ।
कार्यदलले पोलिट्ब्युरो गठनका सदस्यहरूको नाम सुझाव दिन सक्ने, केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने सन्दर्भमा समेत गृहकार्य गर्ने नेताहरूले बताएका छन् ।
त्यस्तै जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेर केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मोटामोटी खाका तयार पार्नेछ । यस्तै जिल्ला अध्यक्ष र सचिवको कार्यविभाजन पनि कार्यदलले टुंग्याउनेछ ।





























प्रतिक्रिया