काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा जारी महाधिवेशनले समसामयिक १३ प्रस्ताव पारित गरेको छ।
महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल पनि गरेको छ । नेसपाको महाधिवेशनेले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन र सरकार परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको हुँदा यस्तो अलोकतान्त्रिक प्रवृत्तिको यो महाधिवेशन घोर भर्त्सना गर्दछ ।’
नेसपाको प्रतिवेदनमा संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि, जनआकाङ्क्षाहरूको परिपूर्ति र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका साथै राष्ट्रमा सुशासन कायम गर्न शक्तिशाली जनलोकपालको गठनको औचित्य पुष्टि भएको हुँदा यथाशीघ्र संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
प्रतिवेदनमा राज्यका सबै अङ्गमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएकोमा भ्रष्टाचारको छानबिन गरी भ्रष्टाचारीहरूमाथि कारबाही गर्न माग गरिएको छ । विगतमा संसदीय समितिबाट कारबाहीका लागि सिफारिस भएका भ्रष्टाचारसम्बन्धी ठूला काण्डहरू तथा भ्रष्टाचारसम्बन्धी गठित छानबिन आयोगका प्रतिवेदन सार्वजनिक गरी कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्ट्राचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्न यो महाधिवेशन जोडदार माग गर्दछ। साथै भ्रष्टाचार विरोधी अभियानमा हाम्रो पार्टी दृढ भएर उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।’
त्यस्तै, बृहत् शान्ति सम्झौतापछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरिएको छ ।





























प्रतिक्रिया