काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् ।
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै उनले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताए । उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे ।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने पनि उनको भनाई छ । उनले भने, ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
यस्तै, उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताए । उनले भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’





























प्रतिक्रिया