…अनि सांसद सुमना श्रेष्ठले बहिष्कार गरिन् संसद बैठक

…अनि सांसद सुमना श्रेष्ठले बहिष्कार गरिन् संसद बैठक

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन् ।

सोमबार जारी बैठकको आकस्मिक समयमा सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजेकी थिइन् । जसका लागि उनले समय माग गरिन् ।

तर, सभामुख घिमिरेले उनलाई समय दिएनन् । ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस् ।’ भने ।

संसदमा उभिएर समय माग गरिरहेकी उनलाई सभामुख घिमिरेले नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्न सुझाए । उनले भने, ‘मैले यहाँलाई समय दिएको छैन भन्ने कुरा सुन्नेगरी राखेको छु । त्यसकारण आसनग्रहण गर्नुस् । नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्नुस् ।’

यसपछि सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए र सांसद श्रेष्ठ बैठक कक्षबाटै बाहिरिएकी हुन् ।

केआईआईटीमा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत भेटिएपछि ओडिसा राज्यमा तनाव उत्पन्न भएको छ । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ । त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’

घटनापछि आक्रोशित विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालिएको खबर पनि बाहिरिएको छ । यसले कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको र सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको विद्यार्थीको आरोप छ ।

Skip This
Skip This
Logo