काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु पछि उत्पन्न घटनाबारे सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनी कलेजको होस्टलमा मृत भेटिएकी हुन् ।
कलेजले प्रकृतिले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ, जसमा उनको प्रेमीका कारण आत्महत्या गरेको देखाइएको छ । ती प्रेमी भनिने युवकलाई पनि पक्राउ गरिएको छ । घटनापछि आक्रोशित विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका छन् । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका छन् । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालिएको खबर पनि बाहिरिएको छ । यसले कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको र सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको विद्यार्थीको आरोप छ ।
यसै विषयमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीको यो भनाई आएको हो ।





























प्रतिक्रिया