पशुपतिनगर ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिए।
“नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनु हुन्न”, इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले भने ।
उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए। खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उल्लेख गरे । “खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईंहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ”, खनालले भने ।
उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे। “नेकपालाई कसले फुटाउन सक्छ कुन नीतिले फुटाउन सक्छ कुन कानूनले फुट्न सक्छ हामी चुनौती दिन चाहन्छौँ”, उनले भने, “हामीलाई फुटाउने भनेको संविधान बमोजिम कानून बमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानूनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनु पर्ने कुरा छैन ।”रासस





























प्रतिक्रिया