पाथीभरा केवलकारः आगोमा घ्यू थप्दै राजेन्द्र महतो, स्थानीय रुष्ट

पाथीभरा केवलकारः आगोमा घ्यू थप्दै राजेन्द्र महतो, स्थानीय रुष्ट

समाज भाँड्ने काम गरिरहेको आरोप


काठमाडौं । अहिले राष्ट्रियस्तरमै चर्चामा रहेको विषयवस्तुमध्ये एक हो, पाथीभरा केवलकार निर्माणको विवाद । यस प्रकरणमा विभिन्न राजनीतिक दलहरु मिसिएसँगै विवाद समाधान हुनुका साटो झनै बल्झिएको छ, रोकिने कुनै छाँटकाँट देखिएको छैन ।

बिहीबारदेखि पाथीभरा केवलकार विवाद पुनः बल्झिनुको मुख्य कारण हो, ताप्लेजुङमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले गरेको इन्ट्री । सरकारले वार्ता टोली नै गठन गरेर ‘नो केवलकार’ पक्षधरहरुसँग छलफल गर्दा विवाद सुल्झिने मोडमा थियो, बिचमा विरोध प्रदर्शन पनि रोकिएको थियो । तर बिहीबार ‘मुक्कुमलुङ बचाऔँ पदयात्रा’ का अध्यक्ष महतो ताप्लेजुङ गएपछि विवादले झन अग्र रुप लिएको छ । यति मात्रै हैन, ताप्लेजुङका फुङलिङ नगरपालिका बजार र काफ्लेपाटी बल्लुडाँडा लगायतका क्षेत्रमा निषेधाज्ञा जारी नै गर्नुपरेको छ ।

अध्यक्ष महतो ताप्लेजुङ गएदेखि नै ‘नो केवलकार’ पक्षधरहरु र प्रहरीबीच पटक–पटक झडप हुँदा पाथीभरा क्षेत्र तनावग्रस्त बन्दै गएको छ । पाथीभरा केवलकार विवादमा महतोको इन्ट्रीले आगोमा पानीभन्दा घ्यू थपे जस्तै भइरहेको छ ।

हुन त महतोले पाथीभरा केवलकार विवाद सुरु भएदेखि नै केवलकार बन्नुहुँदैन भन्ने अभिव्यक्ति दिँदै आइरहका थिए । उनले केवलकारको विरोध काठमाडौँमै रहेर गरिरहेका थिए । तर अहिले भने ताप्लेजुङमै करिव ३०० जना कार्यकर्ता साथमा लिएर ‘नो केवलकार’ आन्दोलनको अगुवाइ गरिरहेका छन् । उनको भूमिकाले शान्ति सुरक्षामा खलल पुर्याउनुका साथै समाज भाँड्ने काम गरिरहेको स्थानीयको आरोप छ ।

ताप्लेजुङका नागरिक विकास र केवलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काम गरिरहेको आरोप पछिल्लो २/३ दिनको अवस्थाले प्रष्ट पारेको देख्न सकिन्छ । ताप्लेजुङका स्थानीयदेखि जनप्रतिनिधिले पाथीभरामा केवलकार बन्नुपर्छ भनेर सपोर्ट गरिरहँदा तराईबाट पूर्व गएर महतो केवलकारको विरोध गर्न उचित हो त ?

शनिवार राती काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । झडपका क्रममा केही ८ प्रहरी र ४ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा राजेन्द्र महतोको नेतृत्वमा मधेश प्रदेशबाट समेत आएको स्थानीयको भनाइ छ । प्रदर्शनकारीले केही घरमा आगाजनी र प्रहरीमाथि आगोको मुस्लो फ्याँकेका थिए । बिहीबार भएको झडपमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना घाइते भएका थिए ।

पाथीभरामा केवलकार बनाउन पाइँदैन भनेर आन्दोलन गर्ने १२ वटा जातीय संस्थाहरूलाई अहिलेसम्म आठ राजनीतिक पार्टीले औपचारिक रूपमा समर्थन जनाएका छन् । फागुन ७ गते जारी गरिएको वक्तव्यका अनुसार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोसहित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिरक, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती रहेका छन् ।

यस्तै, जसपाका रमेश राई र सञ्जय राई,नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्चाक, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवा, मङ्गोल न्याश्नल अर्गनाइजेशनका नयन्द्र चाम्लिङ र नेपाल कम्युनिस्ट पार्टीका किरात लिम्बूवान अध्यक्ष गजेन्द्र पालुङ्वा छन ।

यसरी औपचारिक रुपमै राजनीतिक दलहरुले सहभागिता जनाएपछि विवाद टुङ्गिनुको सट्टा झन बढ्दै गएको छ । पछिल्लो समय केन्द्र स्तरमै चर्चामा आएको पाथीभरा केवलकारको विरुद्ध औपचारिक रुपमै महतो उभिएका छन् ।

पाथीभरा केवलकारले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने महतोको धारणा छ । उनको भनाइ छ, ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन । जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ ।’ कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना पाथीभरामा केवलकार निर्माण हुन नसक्ने धारणा व्यक्त गरेका थिए । केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन सरकारले आवश्यक कदम नचाले, राज्यले आफूहरूको कुरा नसुने आन्दोलन थप सशक्त बनाइने उनले चेतावनी समेत दिएका छन् ।

को हुन् राजेन्द्र महतो ?

मधेशी राजनीतिक वृतका चर्चित पात्र हुन्, महतो । २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा महतो पटक–पटक मन्त्री बनिसकेका छन् । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति, माधवकुमार नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति, डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्री र संविधानसभाका सदस्य बनिसकेका छन् । महतो २०४८ सालको निर्वाचनपछि निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल भएका छन् । तर २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा मात्रै उनी विजयी भएका छन् ।

अघिल्ला निर्वाचनमा सर्लाहीबाट उम्मेदवार हुने गरेका महतो २०७४ सालमा भने धनुषा पुगेका थिए । लगातार सद्भावना पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनता पार्टी (राजपा) जनता समाजवादी पार्टी (जसपा) लगायत मधेश केन्द्रित विभिन्न दलको केन्द्रमा पनि रहे । उप्रधानमन्त्री सहित पटक–पटक मन्त्री बने, मधेश केन्द्रित दलहरुको केन्द्रमा पनि रहेर राजनीतिमा सक्रिय रहे ।

केपी ओलीले ५ पुसको असंवैधानिक कदम चालेपछि त्यसको विरोध गर्ने वा समर्थन गर्ने भन्ने विषयमा विवाद भएपछि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले जसपा फुटाएर लोसपा गठन गरेका थिए । त्यही विवादको क्रममा जसपाको केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीलाई आफ्नो पार्टीमा तान्न यादव र ठाकुर दुवै पक्षले हानथाप नै गरे । टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजारको कारागारमा रहेका चौधरीलाई झुटा मुद्दा फिर्ता हुन, रिहाइ हुने आश्वासन दिने काम बाहेक, स्थानीय तहको निर्वाचन आइसक्दा समेत कसैले वास्ता नगरेपछि चौधरीले आफू रहेको पार्टी लोसपालाई जानकारी समेत नगराई श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा नयाँ दल नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता गरे ।

लोसपामा पनि महन्थ ठाकुरसँग खटपट परेपछि महतोले मधेश केन्द्रित राजनीतिक दल विभाजित हुँदै देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन भन्दै २०८१ असोज १ गते राष्ट्रिय मुक्ति पार्टीका घोषणा गरे । महतो २०७९ मंसिरको चुनावमा पराजित भए ।
यस्तै २०६२ र ६३ को जनआन्दोलन तथा त्यसपछिको मधेश आन्दोलनदेखि हेर्दा राजेन्द्र महतोको राजनीति ‘अवसरवाद’ मा केन्द्रित रहेको विश्लेषकहरू बताउँछन । सत्ताबाहिर हुँदा विभेद, बहुलता र पहिचानको कुरा उठाउने महतो सत्तामा पुग्नासाथ त्यस विपरीतका काम गर्ने उनीहरुको भनाइ छ ।

महतो २०७२ सालमा नागरिकता सम्बन्धी विवादमा पनि तानिएका थिए । उनको नागरिकता छानबिनको मुद्दा अख्तियारसम्म पुगेको थियो । तर अख्तियारले उक्त मुद्दा अगाडि नबढाउँदा विभेद, बहुलता र पहिचानको कुरा उठाउने महतो फेरि राष्ट्रवादी कित्तामा देखिने गर्दथे । २०७२ असोज ६ गते भारतले गरेको नाकाबन्दीका बेला पनि भारतले नाकाबन्दी नै गरेको होइन भन्दै प्रतिवाद गरेका थिए । जवकी त्यतीबेला भारतले नाकाबन्दी गर्दा आम नागरिकले थुप्रै सास्ती खेप्नुपरेको थियो ।

महतोको बारेमा यो कुरा जान्न किन आवश्यक थियो भने पाथीभरा केवलकार विवादमा पनि सोही व्यवहार देखाएका छन् । २०७९ को चुनावमा पराजित भएपछि र मधेस राजनीतिमा असफल रहेपछि पुरानै विरासतमा फर्किन ताप्लेजुङ प्ुगेको देखिन्छ ।

पटक–पटक मन्त्री बनिसक्दा समेत जनताको हितमा काम गर्न नसकेका महतोले तराईबाट पूर्वको जिल्ला ताप्लेजुङमा गएर स्थानीयले स्वीकार गरेको पाथीभरा केवलकारमा विरोध गरेर के गर्न खोजेका हुन् भन्ने प्रश्न अहिले आम नागरिकले औंल्याएको छ । अझ प्रष्ट रुपमा भन्ने हो भने ताप्लेजुङवासीले त कालो झण्डा नै देखाएका छन् ।

Skip This
Skip This
Logo