काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले शासन गर्नका लागि मात्र नभई मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पनि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् ।
एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएका कारण देशका ठूला दुई राजनीतिक दल मिलेर सरकार बनाएको बताएका हुन् ।
“हामी शासन गर्नका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउन, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि मिलेका हौँ”, उनले भने ।
महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको भन्दै विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको धारणा राखे । उनले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढी हुँदै गएपछि अवसरवाद जन्मिने गरेका भन्दै त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने बताए ।































प्रतिक्रिया