सरकार योजना थप्नमा भन्दा थालेका काम पूरा गर्नमा लागेको छ -मन्त्री दाहाल

सरकार योजना थप्नमा भन्दा थालेका काम पूरा गर्नमा लागेको छ -मन्त्री दाहाल

केन्द्रबिन्दु
18
Shares

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नुभन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा उनले सरकारले नयाँ योजनाभन्दा पनि शुरु भइ सकेका राष्ट्रिय प्राथमिकताका योजनाहरुमा श्रोत प्राथमिकिकरण गरी सम्पन्न गर्ने नीति लिएको बताएका हुन् ।
सोही क्रममा उनले वर्षातबाट क्षतिग्रस्त विपी राजमार्ग लगायत सवै खण्डहरु पुन निर्माणको प्रकृया शुरु भइसकेको समेत संसदलाई जानकारी गराए ।

मन्त्री दाहालले संसदमा उठेका विषयमा प्रष्ट पार्न र सांसदहरुको जवाफ दिन मन्त्रालय सधै तत्पर रहेको प्रतिवद्धता समेत बताए ।

सडक तथा सवारी दुर्घटना न्युनिकरणलाई सरकारले उच्च प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले निर्माणाधिन सडकहरुमा सडक सुरक्षालाई सडक संकेत, सडक चिन्ह, जेब्रा क्रसिङ लगायत सडक सुरक्षासंग सम्बन्धित संरचनहरु निर्माण गर्ने गरिएको बताए ।

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि मन्त्रालयले सडक सुरक्षा कार्ययोजना २०२१–३० निर्माण गरी सडक विभाग, यातायात व्यवस्था विभाग र सडक सुरक्षा परिषद मार्फत दुर्घटना न्यूनिकरण एवं दुर्घटना पछिको उद्धार तथा उपचारका कार्यहरु प्रभावकारी रुपमा संचालनको प्रवन्ध गरिएको पनि जानकारी दिए ।

२० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन चलाउन नपाइने नेपाल सरकारको निर्णय कार्यान्वयन भएको बताउँदै प्रस्तावित सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी विधेयक, २०८१ मा पुराना सवारी साधनको व्यवस्थापनका विषय समेटिएको तथा पुराना सवारी साधनलाइ पत्रु गरिने सम्बन्धी मापदण्ड तयारीको क्रममा रहेको मन्त्री दाहालले जानकारी दिए ।

यस्तै, हाल कायम रहेका सडकहरुमा रहेका सडक सुरक्षासँग सम्बन्धित संरचनाहरुको मर्मत संरचनालाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिने

मन्त्री दाहालले संसदमा जवाफ दिने क्रममा आगामी वर्षायामको समयमा यातायात अवरुद्ध हुन नदिने गरि मन्त्रालयले काम गरि रहेको बताए । बाढी पहिरोले क्षति भएका तथा आगामी वर्षामा सडक अवरोध हुने सम्भावना रहेका स्थानहरुमा वैकल्पिक मार्गको विकास र विस्तार, डाईभर्सन निर्माण लगायतका वैकल्पिक उपायहरु अवलम्बन गरिएको दाहलले जानकारी दिए ।

सम्भावित जोखिमलाई मध्यनजर गरि मन्त्रालयले वर्षातको समयमा सवारी आवागमन अवरुद्ध हुन नदिन काम गरिएको बताए । ठेक्का लागेर पनि लामो समयसम्म काम हुन नसकेका तथा काम अवरुद्ध भएका आयोजनाहरुको अध्ययन गरिएको भन्दै उनले रुग्ण आयोजनाहरुको समस्या समाधानका लागि आयोजना गत रुपमा समाधानको प्रकृया अघि बढाईएको दाहलले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग विस्तार, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग, उत्तर दक्षिण करिडोर तथा विभिन्न राजमार्गहरुको निर्माण र स्तरीकरणलाई सरकारले प्राथमिकताका साथ अघि बढाई रहेको मन्त्री दाहालले बताए । यस्तै, कृषि र पर्यटन क्षेत्रलाई सडक पूर्वाधारसँग जोड्ने र विकास निर्माणमा टेवा पुर्या‍उने योजना गरिरहेको र बजेट सोही अनुसार विनियोजन गरिने उनले उल्लेख गरे ।

Logo