काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् ।
कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रमुख शाहीले प्रधानमन्त्री ओलीलाई एयरपोर्ट गएर पूर्वराजाको स्वागत गर्न आग्रह गरेका हुन् ।
‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुनेरु राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् ।’ आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यो १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौ। राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ । अदालत कार्यकर्ताको बनायौ । प्रहरी कार्यकर्ताको बनायौं । कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ ।
तिमीहरुलाई अझै के आधारमा विश्वास गर्ने ?’
पूर्वराजा शाह पोखराको एक साता बसाइपछि काठमाडौं फर्किंदा आज राजावादी दल र केही समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।




















