बढ्यो स्ववियु चुनावको सरगर्मी

बढ्यो स्ववियु चुनावको सरगर्मी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । यतिबेला त्रिभुवन विश्वविद्यालयमा स्ववियु चुनावको सरगर्मी बढेको छ । मंगलबार विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएसंगै नेताहरु भोट आफ्नो पक्षमा पार्न व्यस्त छन् । त्यस्तै त्रिवि पनि स्ववियु चुनाव शान्तिपूर्वक सम्पन्न गर्ने तयारीमा जुटेको छ ।

त्रिविको ६२ वटा आंगीक क्याम्पस र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थी नेता र विद्यार्थीहरु तिब्र रुपमा चुनावी तयारीमा लागेका छन् । स्ववियु चुनावको घोषणा भएसँगै संगठनहरुले आन्तरीक छलफल गर्न सुरु गरिसकेक थिए । त्यस्तै चुनावी घोषना पत्र तयारी र प्रचार – प्रसार समिती बनाएर चुनावी माहोलमा होमिएका हुन् ।

त्रिवि केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी बाट राजन साउद, अनेरा स्ववियु सभापतिको तर्फ बाट सिद्धान्त भट्ट, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को तर्फबाट प्रविन दाहाल, स्वतन्त्र बाट उज्ज्वल खड्का विच रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

सबै क्याम्पसहरुमा शान्तिपूर्वक चुनाव सम्पन्न गराउने उदेश्यका साथ त्रिविको तयारी रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले बताए ।

नेकपा एमाले निकट अनेरास्ववियुको मातहतका विभाग र कमिटी गठन गरि चुनावी प्रचार प्रसारलाई अगाडि बढाएको अनेरा स्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले केन्द्रविन्दुलाई जानकारी गराए ।

अनेरास्ववियुले शिक्षामा पहुँच र निरन्तरता, शिक्षाको गुणस्तर, परीक्षा प्रणालीको सुधार, शिक्षालाई रोजगारीसँग जोड्नेलगायत विषयलाई चुनावी एजेन्डा बनाएर प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले केही क्याम्पसमा तालाबन्दी, विद्यार्थीहरुमा असहमति भएका कारण अवरोध सिर्जना भएपनि अन्य क्याम्पसहरुमा चुनावी प्रचारप्रसार तिब्र रुपमा अगाडि बढ्दै गएको बताए ।

कतिपय क्याम्पसहरुमा निर्विरोध भैसकेको र केन्द्रिय कमिटी गठन गरि चुनावको लागि अखिल क्रान्तिकारीले संयोजक, उपसंयोजक लगायतको जिम्मेवारीको बाँडफाँड गरि चुनावको तयारीमा जुटेको जानकारी दिए ।

त्यस्तै, नेविसंघका केन्द्रिय अध्यक्ष अनुराग शाहले अन्य क्याम्पसहरुमा चुनावी प्रकृया अगाडि बढेको भएता पनि त्रिविको केन्द्रिय क्याम्पस र त्रिचन्द्र क्याम्पसमा भने चुनावी प्रकृया अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले त्रिवि केन्द्रिय क्याम्पसको सभापति उम्मेदवारमा दुई जनालाई टिकट दिए पछि विवाद सिर्जना भएको हो ।’

उक्त विवाद समाधान गर्न पार्टी सहजकर्ताको कार्य गरिरहेको पनि शाहले जानकारी गराए ।

शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले चुनावी वातावरण रोचक बन्दै गएपनि कुनै प्रकृया अगाडि नबढेको बताए । उनले भने, ‘अन्तिम मतदाता नामावलीको विवादका कारण अन्य संगठनहरुले क्याम्पसमा ताला लगाएका छन् ।’ अनेरास्ववियु लगायत अन्य संगठनहरुले स्ववियुले नियम विपरित ५ सय विद्यार्थीलाई भर्ना गरेको आरोप लगाएर ताला लगाएको बस्नेतले जानकारी दिए । तर ति आरोपहरु झुटो भएको उनले खण्डन गरे ।

आफू स्ववियुको चुनावको पक्षमा रहेको र नेवि संघ चुनाव सफल पार्ने कसरतमा रहेको जिकीर गरे ।

त्यस्तै, विश्वबजारको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न समयसापेक्ष नयाँ विषयहरूलाई विश्वविद्यालयहरूमा शैक्षिक कार्यक्रमका रूपमा सुरु गर्न पहल गर्ने समेत अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ ।

रत्न राज्य लक्ष्मी क्यापसमा पनि चुनावले माहोल तताइरहेको छ । विद्यार्थी नेताहरु प्रचार प्रसारमा एकीकृत भएर लागेका छन् ।

संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि २०७९मा स्ववियु चुनाव हुन नसकेको यस क्याम्पसमा यसपटक पनि चुनाव हुन्छ वा हुँदैन विद्यार्थी नेताहरु नै ढुक्क छैनन् । उक्त क्याम्पसका नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेता उज्ज्वल न्यौपानेले भने, ‘विश्वविद्यालय र क्याम्पसमा स्ववियु चुनावको महत्वपूर्ण भुमिका रहेको हुन्छ । हामी चुनाव गराउने पक्षमा छौं तर विपक्ष संगठनहरु सहमत हुन नसक्दा उम्मेदवारी दर्ता हुन सकेन । चुनाव पनि के हुन्छ टुङ्गो छैन ।’

विद्यार्थी नेता नै छैनन् ढुक्क

त्रिविले नै चुनावी तयारी अगाडि बढाएकाले विद्यार्थी संगठनहरुमा चहलपहल बढेपनि विद्यार्थी नेताहरुमा भने आशंका उब्जिएको छ । त्यसको मुख्य कारण भनेको केन्द्रमै रहेको क्याम्पसमा उम्मेदवारी दर्ता नहुनु र हरेक २ वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ देखि नियमित हुन नसक्नु अर्काे कारण हो ।

२०७३ सालमा २६ वटा आंगिक क्याम्पसमा चुनाव भए पनि अधिकांश क्याम्पसमा २०६५ सालदेखि चुनाव हुन सकेको छैन । १४ वर्ष पछि २०७९ मा स्ववियुले पदाधिकारी पाए पनि अधिकांश क्याम्पसहरुमा विद्यार्थी नेताहरु विचको किचलो कै कारण निर्वाचन हुन सकेन ।

विद्यार्थी संगठनहरुले नियमित स्ववियु चुनाव माग गर्दै आए पनि त्रिविले चुनाव गराउन सकेको छैन । यस वर्ष भने त्रिवि नेतृत्व आफैं सक्रिय भएर मिति घोषणा त गरेको छ तर चुनाव हुन्छ वा हुँदैन निश्चित भने छैन ।

कार्यतालिका अनुसार भएन संगठनको उम्मेदवारी दर्ता

गएकाे मंगलबार बिहान ११ देखि २ बजेसम्म अन्य क्याम्पस र ५ बजेसम्म त्रिवि केन्द्रिय क्याम्पसमा मनोनय दर्ता गर्ने कार्यतालिका रहेको थियो । त्यसै तालिकाअनुरुप कतिपय क्याम्पसका विद्यार्थी नेताहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् । तथापी उपत्यकाको २२ वटा क्याम्पसमध्ये ५ वटा क्याम्पसमा तोकिएको समयमा संगठनहले उम्मेदवारी दर्ता गराउन नसक्दा ति क्याम्पसहरुमा चुनाव अवरुद्ध भएको छ । शंकरदेव नेपाल ल, पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा चुनाव अवरुद्ध भएको हो ।

Skip This
Skip This
Logo