प्रचण्ड र ज्ञानेन्द्र शाहीबीच जुहारी- दरबार हत्याकाण्ड कसले गरायो ?

प्रचण्ड र ज्ञानेन्द्र शाहीबीच जुहारी- दरबार हत्याकाण्ड कसले गरायो ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डमा सबैभन्दा बढी फाइदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको आरोप लगाएका छन् ।

प्रचण्डले एक सार्वजनिक कार्यक्रममै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि दरबार हत्याकाण्डको मास्टरमाइन्डदेखि मूर्ति चोरको समेत आरोप लगाएपछि राप्रपाका प्रवक्ता शाहीले यस्तो कटाक्ष गरेका हुन् । उनले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,

प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SmG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ?

मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईंलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्‍यो तपाईंले मार्‍यो ? निहत्था नागरिकलाई बाटो बाटोमा बम थाप्दै कसले हत्या गर्‍यो? तपाईंले गर्‍यो।

विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईंले रेट्यो। ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले गर्‍यो। क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ? तपाईंले गर्‍यो। सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यौ।

तर यस्तै भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नवीनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।

त्यसअघि शुक्रबार माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजामाथि दरबार हत्याकाण्डको मास्टरमाइन्डदेखि मूर्ति चोरको समेत आरोप लगाएका थिए ।

उनले भनेका थिए,’जुन नौटङ्कीहरू देखाइँदै छ । राजा महाराजको बारेमा, २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठुलठुला मूर्ति चोरहरु अहिले राजा ! भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ? मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’

दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो। विसं २०५८ साल जेष्ठ १९ गते (सन २००१ जुन १) राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको हत्याकाण्डले विश्वभर नै सनसनी मच्चाएको थियो। यो घटना अहिलेसम्म रहस्यमय छ। हाल पूर्वराजा ज्ञानेन्द्र सक्रियता बढेसँगै दरबार हत्याकाण्डका विषयमा राजनीतिक वृत्त तातिएको छ ।

Skip This
Skip This
Logo