काठमाडौं । आसन्न स्ववियु निर्वाचनमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद देखिएको छ ।
यसअघि पूर्णिमाया परियारलाई नेविसंघबाट स्ववियु सभापतिको आधिकारिक उम्मेदवार घोषणा गरिएको थियो र उम्मेदवारीसमेत दर्ता गराइसकेकी छन् । पद्मकन्या क्याम्पसको वेबसाइटमा पनि पूर्णिमाया नै अध्यक्षको उम्मेदवार भनी उल्लेख छ ।
निर्वाचन समितिले पूर्णिमाया नै आधिकारीक उम्मेदवार रहेको र पहिलेको निर्णयमा कुनै फेरबदल नभएको प्रष्ट्याएको छ । परियार नेपालकै पहिलो दलित स्ववियु सभापति उम्मेदवार हुन् ।

तर, आज स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको भन्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले लेखेको पत्र बाहिरिएको छ । ‘स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारीक उम्मेदवार सम्बन्धमा परेको दाबी विरोधबारे प्रष्ट पार्न त्यहाँबाट लेखिएको पत्र प्राप्त भै अध्ययन गर्दा पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका नाममा पेश भएको पत्र आधिकारीक नभएको पाइएको र नेपाल विद्यार्थी संघको आधिकारी समर्थन श्री भुपि ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु ।’ पत्रमा उल्लेख छ ।

तर, यस पत्रको विश्वसनीयतामाथि भने शंका उब्जिएको छ । पत्रमा अध्यक्ष शेर्पाको हस्ताक्षर नै नक्कली भएको चर्चा चलेको हाे ।
पद्मकन्याको हालकी स्ववियु सभापति ज्योति पनेरु पनि नेविसंघबाट आधिकारिक उम्मेदवार परियार नै रहेको बताउँछिन् । पनेरु पनि नेविसंघकै हुन् ।
नेविसंघमा परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
स्ववियु निर्वाचनका लागि पद्मकन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले चुनावी तालमेल गरेका छन्, जसमा नेविसंघले भिड्नुपर्ने देखिन्छ । तर, यसरी गुटगत रुपमा राजनीति माैलाउँदा शिक्षामा पहुँच र निरन्तरता, शिक्षाको गुणस्तर, परीक्षा प्रणालीको सुधार, शिक्षालाई रोजगारीसँग जोड्ने, छात्रवृत्ति अवसरलगायत चुनावी एजेन्डा ओझेलमा पर्ने देखिन्छ ।
स्ववियु निर्वाचन यही ५ गतेका लागि तोकिएको छ । तर, पद्मकन्या क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिकाअनुसार निर्वाचन हुन सकेको छैन । तोकिएको समयमा संगठनहरुले उम्मेदवारी दर्ता गराउन नसक्दा पद्यमकन्यालगायत केही क्याम्पसमा स्ववियु चुनाव धकेलिएको हो ।































प्रतिक्रिया