काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्किएका छन्।
अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैङ्कको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उनी नेतृत्वको टोली त्यसतर्फ गएको थियो ।
मन्त्री दाहाल विश्व बैङ्कको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी भए । कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय क्षेत्रको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तरराष्ट्रिय समुदायलाई प्रस्ट पारेका थिए ।
सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको न्यूनतम लागत कायम गर्न र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहबारे धारणा राखेकाे उनको सचिवालयले जनाएको छ ।
मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी भए भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बोधन गरेकाे जनाइएको छ ।





























प्रतिक्रिया