‘शान्त गणतन्त्रवादी, अराजक राजावादी’

‘शान्त गणतन्त्रवादी, अराजक राजावादी’

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । शुक्रबार काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्ष र विपक्षमा एकैदिन दुई प्रदर्शन भए । राजतन्त्र पुनःस्थापनाका लागि राजावादी र ति राजावादीविरुद्ध गणतन्त्रको रक्षाको लागि समाजवादी मोर्चाले एकै दिन राजधानीमा विशाल प्रद्धर्शन गरेका हुन् ।

राजावादीहरुविरुद्ध गणतन्त्रवादी राजनीतिक दलहरुको समाजवादी मोर्चाले गरेको आन्दोलनभन्दा राजावादीहरुले गरेको आन्दोलन निकै उग्र बन्यो । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले शुक्रवार गरेको प्रदर्शनको कमाण्डरमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अध्यक्ष दुर्गा प्रसाईं थिए ।

‘देशमा सुशासन भएन, भ्रष्टाचार नै भ्रष्टाचार भयो, जनताको हक र हितका लागि अहिलेको व्यवस्थाले काम गरेन’ भन्दै राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गरिरहेका नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र प्रार्टी नेपाल लगायतले समर्थन गरेका थिए । प्रसाईंको कमाण्डरमा रहेको राजावादीहरुले हिंसात्मक आन्दोलन नै गरे । जसका कारण तीनकुनेदेखि सुरु हुने भनेको आन्दोलन कोटेश्वरबाटै हिंसात्मक बन्यो ।

राजावादी प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्ने, एकीकृत समाजवादीको कार्यालय, नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वरिपरि रहेका घर तथा सवारी साधनमा आगो लगाउने, कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको सामान तोडफोड गर्ने, अन्नपूर्ण पोष्टको कार्यालयमा आगो लगाउने र नीतिकुनेस्थित कान्तिपुरको कार्यालयमा तोडफोड गर्ने लगायत केही घरमा आगजनी र तोडफोड नै गरे । स्थिति नियन्त्रणबाहिर गएसँगै तीनकुने लगायतका क्षेत्रमा कफ्र्यु लगाइएको छ ।

प्रदर्शन उग्र हुँदै गएपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीको गोली लागी कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु नै भएको छ भने सुरक्षाकर्मी लगायत प्रदर्शनकारी गरी २२ भन्दा बढी घाइते भएका छन् । राजावादीहरुको अराजकता यतीमा मात्रै सीमित रहेन, आन्दोलनको भिडियो खिच्न गएका एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेका छन् ।

राजावादी प्रदर्शनकारी कसरी भए अराजक ?

‘राजा आउ देश बचाउ’भनेका उनीहरुले सरकारविरुद्ध भने चर्को विरोधको आवाज उठाएका थिए । नयाँ बानेश्वरदेखि तीनकुुने लगायतका क्षेत्रमा राजावादीहरुले केही घण्टा सामान्य प्रदर्शन गरे । त्यसको करिब केही समयपछि राजावादी प्रदर्शनका जनकमाण्डर प्रसाई फिल्मको हिरो जस्तै गरेर प्रदर्शनकारी भरिएको एउटा गाडी आफैँले हुइक्याउँदै ल्याए । सुरक्षाकर्मीले रोक्न खोज्दा पनि तिनलाई नै धक्का दिँदै निषेधित क्षेत्रमा गाडी कुदाउँदै लगे । प्रसाईको उक्त गतिविधिपछि राजावादी समर्थकहरुले हिंसात्मक प्रदर्शन सुरु गरे । प्रहरीलाई नानाभाँती गाली गर्दै ढुंगामुढा प्रहार गरी प्रदर्शनलाई उग्र बनाए ।

त्यसपछि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनलाई नियन्त्रण गर्न खोजे । तर प्रदर्शनकारीहरुले उल्टै प्रहरीसँग रहेको अश्रुग्यास खोसेरै उनीहरुमाथि नै प्रहार गरे । यति मात्रै थिएनन्, सुरक्षाकर्मीसँग रहेको बन्दुक लगायतका हात हतियारलाई खोसेर प्रदर्शन उग्र बनाए ।

तर उक्त परिस्थिति हुँदा प्रत्यक्षदर्शी रहेका आन्दोलनका जनकमाण्डर प्रसाईंले शान्तिपूर्ण रूपमा कार्यक्रम स्थल जाँदै गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गरी कार्यक्रम सुरु सम्म गर्न समेत नदिएको आरोप लगाएका छन् । लाठीचार्ज गर्दै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरेपछि समस्याको सिर्जना भएको उनको आरोप छ ।

राजावादीको हिंसात्मक प्रदर्शनपछि यी स्थानमा कफ्र्यु र सेना परिचालन व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यू लगाएको छ ।

लागू गरिएको सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ र आवतजावत पनि गर्न नपाइने प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए । कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

प्रदर्शन अनियन्त्रित भएपछि अहिले तीनकुने लगायतका स्थानमा सरकारले नेपाली सेना परिचालन गरेको छ । कफ्र्युमा मुख्य रूपमा सेनाले कमाण्ड सम्हाल्ने गर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’मा खटिने छन् ।

आन्दोलनबाट किन भागे आन्दोलनका कमाण्डर प्रसाईं ?

राजावादी जनआन्दोलनका कमाण्डर प्रसाईं प्रदर्शन उग्र भएपछि आफैंलाई जोगाउन मुस्किल भएपछि प्रदर्शनको मैदानबाट भागे । आफैंले सुरु गरेको उग्र वातावरणलाई यत्तिकै लथालिङ अवस्थामा छोडी आफुले प्रदर्शनको मैदान छोडेका थिए । यसैबीच मैदानकमै रहेर प्रदर्शन संयमित बनाउन नसकेका जनकमाण्डर प्रसाईले संयमित बन्न फेसबुकमार्फत आह्वान गरे । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छन् । ‘प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ । यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईले फेसबुक मार्फत भने ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्व र पहिचान नै सङ्कटमा पर्न लागेको भन्दै सक्रिय हुने आकांक्षा जनाएका थिए । गत फाुगन २५ गते शाही पोखराबाट काठमाडौं फर्किदै गर्दा काठमाडौं एयरपोर्टमा देखिएको भीडले राजसंस्था पुनर्बाहाली गर्न सकिन्छ भन्ने आत्म विश्वास बढेपछि सडकदेखि सदनसम्म राजावादी राजनीति दल र संघ संगठनहरुले जोडतोडका साथ माग गरिरहेका छन् ।

राजावादीविरुद्ध समाजवादी मोर्चाको शान्तिपूर्ण शक्ति प्रदर्शन

तीनकुनेमा राजावादीले अराजक हर्कत कच्चाइरहँदा भृकुटीमण्डपमा भने समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा शान्तिपूर्ण प्रदर्शन गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक र दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए ।

आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको उनको भनाई छ ।

१२ वर्ष कुकुरको पुच्छर ढुंङग्रोमा हाले पनि बाङ्गाको बाङ्गै जस्तो भयो । मण्डले अराजकताको पराकाष्ठा तीनकुनेमा देखियो । प्रतिगामीको पराकाष्ठा घरमा आगो लगाउने, पुलिसमाथि आक्रमण गने, मान्छे मरून भन्नेसम्मको अराजकता फैलाउन लागेको उनको भनाइ छ ।

उनले भने, ‘जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरेका छन् । त्यस्ता गल्तीको परिणाम पूर्वराजाले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार भन्न चाहन्छु ।’

यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए । उनले भने, ‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरि पछाडि जान सक्दैन, जान दिदैनौं । चुनौती दिन चाहन्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

यस्तै, राजतन्त्रको अन्त्यको समय स्मरण गराउँदै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले राजतन्त्र फर्किने सपना देखेर जनतालाई दुःख दिने काम भइरहे सैह्य नहुने चेतावनी दिएका छन् । उनले भने, ‘विदेशीको षड्यन्त्रमा केही तत्वले राजतन्त्रको कुरा गरेका छन् । इतिहास फर्किंदैन । षड्यन्त्र हुन्छन् । त्यसप्रति हामी सतर्क र खडा छौं । कुनै तत्व उचालिएर केही हुनेवाला छैन, छुटाउनुपर्ला फेरि ।’

नेपाली जनतालाई पूर्वराजा ज्ञानेन्द्र जस्तो प्रभुहरूको खाँचो नरहेको भन्दै उनले भने, ‘हामीलाई प्रभुहरूको खाँचो छैन ।हामीलाई महासामन्तीहरुको खाँचो छैन । जनतालाई पैतालामुनि धुलो सरह नदेख्ने सामन्तवादी शासकहरूको खाँचो छैन ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका प्रमुख नेता महेन्द्र राय यादव लगायतका समाजवादी मोर्चाका सम्पूर्ण दलका कार्यकर्ता सहभागी थिए । समाजवादी मोर्चाले सांस्कृतिक लगायत कार्यक्रम गरी निकै शान्त स्थितिमा समापन गरेका थिए ।

तनावपूर्ण परिस्थितिमा सरकारको भूमिका !

राजावादीहरुको गरेको तनावपूर्ण आन्दोलनलाई संयमित बनाउन सरकारले प्रक्रिया अगाडि बढाएको छ । आन्दोलन तनावग्रस्थ बनेपछि गृहमन्त्री रमेश लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको बताए । उनले ‘शान्तिपूर्ण भनेको प्रदर्शन यही हो ? भन्दै प्रश्न गरे । ‘अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन, जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ ।’ उनले भने ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार हो । तर राजावादी समूहले विरोध प्रदर्शनका क्रममा शुक्रबार सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने र धेरै सम्पत्तिको तोडफोड गरेको भन्दै यस्तो अराजकता मच्चाउनेमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई कारवाही गर्ने सरकारले तयारी गरेको छ भने प्रसाईंलाई पक्राउ गर्न आदेश नै दिएको छ ।

Logo