काठमाडौं । कोटेश्वरको तीनकुुनेमा राजावादीहरुले केही घण्टा गरेको आन्दोलन र प्रदर्शनले कोटेश्वर वरपरका क्षेत्रमा गम्भीर असर परेको छ । वरपरका घर तथा मिडिया कार्यालयहरुमा आगजनी मात्र होइन, राजावादीहरुकैै अराजकता र मुर्खताका कारण दर्जन बढी सुरक्षाकर्मीले प्रदर्शनकारीहरु घाइते भएका छन्, एक प्रदर्शनकारी र तीनकुनेको एक भवनमा लगाइएको आगोमा जलेर एक पत्रकारको पनि मृत्यु भएको छ ।
प्रदर्शनकारी मात्र होइन तर सुरक्षाका लागि खटिएका दर्जनौं प्रहरीहरु पनि घाइते भएका छन् । सुरक्षा र अप्रिय घटना घट्न नदिनका लागि खटिएका प्रहरीहरु आफैं सुरक्षाको निम्ति आश्रय खोजेर भागिरहेका थिए । यसरी राजा फर्काएर देश बचाउनका लागि उठेका राजावादीे प्रदर्शनकारीका मुख्य कमान्डर दुर्गा प्रसाईंको नेतृत्वमा कोटेश्वर तीनकुनेमा गर्ने भनिएको प्रदर्शनले कसरी दुई व्यक्तिको ज्यान जाने र करोडौं क्षति हुनेसम्म गरी उग्ररुप लियो त ? यो विषयमा हामी क्रमबद्द रुपमा तीनकुनेमा भएका घटनाक्रम वर्णन गर्नेछौं ।
नयाँ बानेश्वरदेखि तीनकुनेस्थित कान्तिपुर अस्पतालको अगाडिसम्म तीन तहमा प्रहरीहरु सुरक्षाका लागि खटिएका थिए, जुन क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको थियो । अर्थात् त्यस क्षेत्रमा कुनै प्रकारको आन्दोलन, प्रदर्शन वा नाराबाजी गर्न पाइँदैन । कान्तिपुर अस्पताल अगाडिको निषेधित क्षेत्र अगाडी करिब पौने १ बजेतिरसम्म प्रदर्शन साधारण नै थियो, उग्र रुप लिएको थिएन । राजावादीहरु निषेधित क्षेत्रअगाडी राजा आउ देश बचाउ, केपी चोर देश छोड र हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतको नारा लगाउँदै प्रदर्शन गरिरहेका थिए । त्यसैको करिब ५ मिनेटपछि राजावादी प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाई फिल्मको हिरोजस्तै गरेर आओ आओ भनेर कराउदैं राजावादीले भरिएको एउटा गाडी हुइक्याउँदै ल्याउँँछन् र सुरक्षामा खटेका प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्रमा गाडी छिराउन खोज्छन् । त्यसपछि उनका समर्थकहरु उत्साहित हुदैं हिंसात्मक बन्छन् र प्रहरीलाई नानाभाँती गाली गर्दै ढुंगामुढा गर्छन् । त्यसपछि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्छ । त्यसैक्रममा कति ढुंगाले लागेर त कति ग्यासको कारणले घाइते हुन्छन् । घाइते भएका प्रदर्शनकारीहरु र सुरक्षाकर्मीलाई प्रहरीले नै मद्दत गरेर पानी खुवाउने र अस्पताल पुर्याउने गरिरहन्छन् । प्रहरीले प्रदर्शनकारीहरु भएको तिर अश्रुग्यास प्रहार गर्छन् र प्रदर्शनकारीहरु पनि अन्धाधुन्धा ढुंगा प्रहार गर्छन् ।
प्रहरी र प्रदर्शनकारी बीचको जुहारी चलिनै रहेको हुन्छ । कहिले प्रहरीले पेल्दै राजावादीलाई पछि पुर्याइरहेको हुन्छ त कहिले राजावादीहरुले प्रहरीलाई पेलेर ढुंगा प्रहार गरिरहेको हुन्छ । कबड्डी जस्तै । त्यसैबीचमा राजावादीहरुले टायर बाल्छन् र हिंसात्मक हुँदै कराउँदै ट्राफिक बस्ने ठाउँ पनि चिच्याउदैं ढाल्छन् र जलाईदिन्छन् र तीनकुनेकै एउटा भवनमा आगो लगाइदिन्छन् । दृश्य कुनै एक्सन फिल्मको भन्दा कम थिएन तर त्यति नै बेला निकै अप्रिय घटना घट्छ । आगो लागेको त्यसै भवनमा परेर त्यहाँ भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको जलेर मृत्यृ हुन्छ, तर उनका सहकर्मीबाहेक कसैले भेउ पाउँदैनन् । प्रहरीले आगो लागेको थाहा पाउनेबित्तिकै भिड नियन्त्रण गर्न ल्याएको पानीको फोर्ससहितको गाडी आगलागी भएको ठाउँमा लान खोज्छन् तर राजावादीहरुले उक्त गाडीलाई ढुंगामुढा गर्छन् र आगो निभाउन दिँँदैनन् ।
आजित भएर उक्त गाडी फिर्ता आउँछ । ढुंगामुढाकै क्रममा तीनकुने क्षेत्रको वरिपरीको भवनको र पार्क गरिएको गाडीको पछाडीको सिसा फुटाइन्छ । बाटोमा हिँडेका मानिसहरुलाई पनि चोटपटक लाग्छ । यता मानिसहरु घाइते हुने क्रम जारी नै हुन्छ । त्यसपछि एकैछिन अवस्था नियन्त्रणमा आएजस्तो देखिन्छ तर एकैछिनमा फेरि राजावादीहरु सक्रिय हुन्छन् र हिंस्रक बन्छन् । त्यसैक्रममा अर्को अप्रिय घटना हुन्छ, प्रहरीले गोली चलाउँछ र उक्त गोली एकजना राजावादी समर्थक कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनलाई लाग्छ र उनी अचेत बन्छन् । उनलाई हतारमा नजिकैको कान्तिपुर अस्पतालमा लगिन्छ । त्यहाँ उनको सामान्य उपचार गरिन्छ र विर अस्पतालमा पुर्याइन्छ तर उनको मृत्यृ हुन्छ । यसरी आन्दोलनमा मृत्यृ हुनेको संख्या दुई पुगेको छ । त्यतिकैमा राजावादीहरुका जनकमाण्डर तीनकुनेबाट निस्किसकेका हुन्छन् ।
अनि फेसबुकमा सरकारले मुख थुन्न खोजेको भन्दै आन्दोलनकारीहरुलाई निजी क्षेत्रमा आक्रमण नगर्न आग्रह गर्छन् । त्यसपछि राजावादीहरु तितरवितर हुन्छन् र नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समेत तोडफोड गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा पनि आगजनी गर्छन् । कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटपाट पनि मच्चाउँछन् । भलै, लुटपाट गर्ने सबैजना राजावादी प्रदर्शनकारी नहोलान् तर भाटभटेनीको मुल ढोका फुटाउने भने राजावादीहरु नै थिए । त्यसपछि काठमाडौं प्रशासनले तीनकुने आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
उक्त आदेशमा शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । त्यसपछि तीनकुनेमा सेना परिचालन गरिन्छ । र राजावादीहरु अझैं थाकेका हुँदैनन् । उनीहरु जडिबुटी पुग्छन् र कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाइदिन्छन् । हाल उक्त आगो नियन्त्रणमा आइसकेको छ तर कम्पनीको भवनभित्र भएको जडिबुटीका तेलहरु प्राय नष्ट भइसकेका छन् । जे भनेपनि यो कुरा साँचो हो कि राजावादीहरुको प्रदर्शनीले काठमाडौंमा एक प्रकारको तनाव सिर्जना गरेको छ । कोटेश्वर भएर जानुपर्ने सर्वसाधारणहरु कर्फ्यूका कारण कता जाने अन्यौलमा छन् ।





























प्रतिक्रिया