काठमाडौं । राजतन्त्रको प्रमुख मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने मत राखेको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’ बैठक स्थगनपछि प्रष्ट्याउँदै उनले भने ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएको विषयलाई विपक्षी दलहरुले उठाएपछि बुधबारदेखि बैठक बस्न सकेको छैन । बिहीबार र शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।
आज पनि प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि तनावकाे स्थिति बनेकाे थियाे ।





























प्रतिक्रिया