रामेछाप । नेकपा एमालेका पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले हरेक पटक केपी ओली र नेकपा एमाले सत्तामा आउँदा असफल गराउनको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरूले वितण्डा मच्चाउने गरेका बताएका छन् ।
एमाले रामेछापले मन्थलीमा गर्न लागेको प्रदर्शनको तयारीका छलफलमा बोल्दै चौलागाईँले राजावादी भनिनेहरूले शुक्रबार काठमाडौंमा मच्चाएको वितण्डा त्यसैको निरन्तरता भएको बताएका हुन् । एमाले र केपी ओलीले राष्ट्रको रक्षा, देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका लागि काम गरेकै कारण निरन्तर रूपमा चौतर्फी आक्रमण हुने गरेको उनको धारणा छ ।
ओली सरकारमा आएदेखि नै फाल्नको लागि अनेक षड्यन्त्र भएका उदाहरण चौलागाईँले दिए । ‘केपी ओलीलाई फाल्न सकिन्छ कि भनेर यो वितण्डा मच्चाइएको हो, यदि केपी ओली फालिने स्थिति आउने हो भने यो वितण्डा केही पनि हुँदैन’, उनले भने । तर यी कुनै पनि षड्यन्त्र सफल नहुने उनले स्पष्ट पारे ।
संविधान जारी गर्ने बेला र संविधान संशोधन गर्ने बेला जसरी देशका सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन एमाले सफल भयो अहिले पनि त्यसै गरी गणतन्त्रवादी शक्तिलाई एक ठाउँमा ल्याउन सफल हुने उनले दाबी गरे ।
‘हाम्रो लिडरसिपको जुन अब्बल भूमिका छ, त्यसमा हामीले ऐक्यबद्धता र साथ दिन जरुरी छ, अन्यथा ठूलो अन्तर्राष्ट्रिय षडयन्त्र छ’,उनले भने ।





























प्रतिक्रिया