‘जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्छ’ -सांसद शर्मा

‘जनताको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नुपर्छ’ -सांसद शर्मा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै सांसद शर्माले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थाको परिवर्तन गराउने गरी सरकारले काम गर्नुपर्ने बताएकी हुन् ।

उनले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजा पक्षधरले देखाएको व्यवहार पूर्णत गैरकानुनी र असंवैधानिक रहेको उल्लेख गरिन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको त्याग, बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेकी नेत्री शर्माले संविधान र कानुनविपरीत गतिविधि गर्ने छुट कोही कसैलाई नभएको बताइन् ।

तीनकुने घटनामा सरकारी संस्था जलाइएको, दुई जनाको ज्यान गएको, दर्जनौँ नागरिक घाइते भएको तथा सार्वजनिक सङ्घ संस्थामाथि तोडफोड भएकामा आपत्ति प्रकट गर्दै उहाँले पूर्वसावधान अपनाउने काममा सरकारले कमजोरी गरेको दाबी गर्नुभयो ।

लोकतन्त्रलाई थप समृद्ध बनाउनका लागि सबैको साथ र सहयोग जरुरी उल्लेख गर्दै उनले जनतालाई सेवा सुविधा प्रदान गरी व्यवस्थालाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखिन् । संविधान, व्यवस्थालाई बलियो बनाउनका लागि सरकारले सुशासनको प्रत्याभूति दिलाउनुपर्ने, गैरकानुनी गतिविधि नियन्त्रण गर्नुपर्ने बताइन् ।

आफ्नो पार्टीसहित समाजवादी मोर्चामा आवद्ध दलहरुको तर्फबाट आयोजित जनप्रदर्शन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानका पक्षमा मत जाहेर गरेको सांसद शर्माको भनाइ छ । सुशासनको पक्षमा स्पष्ट धारणा राख्दै आफ्नो पार्टीले सोही अनुसारको गतिविधि गर्न सरकारलाई खबरदारी गर्ने उल्लेख गर्दै सङ्घीय संसद्मा भइरहेको अवरोध तत्कालका लागि स्थगित गरिएको जानकारी दिइन् ।

उनले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएर अन्याय गरेको बताइन् । सांसद शर्माले तीनकुने घटानामा संलग्न जुनसुकै प्रकारका दोषीलाई कारबाहीको दायरामा ल्याउन उहाँले पटक–पटक माग गरिन् ।

Logo