कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन् ।
नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेशले आयोजना गरेको बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले रोजगारीका सिलशिलामा भारत जाने श्रमिकलाई बिमा लाभमा समेट्न प्रदेश सरकार संवेदनशील रहेको बताएका हुन् ।
उनले रोजगारीका लागि खाडी मुलुकलगायत तेस्रो मुलुक जाने श्रमिकसँगै भारत जानेहरूको पनि श्रमिक बिमा गर्नुपर्ने बताए । श्रमिकले बिमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेशका सचिवहरूलाई भारत जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरी प्रक्रिया अगाडि बढाउन र गृहकार्यमा लाग्न उनले निर्देशन दिए ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमवासीको विपत् बिमा गर्ने योजना लिएकाले नियमनकारी निकाय बिमा प्राधिकरण र बिमा गर्ने सङ्घसंस्थाले चासो लिएमा सहज हुने बताए । सरकारले महिला स्वयंसेविकाको बिमा गर्नाका साथै शिक्षिकाहरूको हकमा प्रतिव्यक्ति रु दुई हजार अनुदानमा दिँदै आएको जानकारी दिँदै उनले कृषि बिमाका लागि प्रदेश सरकारले विशेष योजना ल्याएर बढीभन्दा बढी किसानलाई सहभागी गराउने धारणा राखे ।































प्रतिक्रिया