‘दुर्गा प्रसाईं सरकारकै संरक्षण छन् कि भन्ने आशंका पैदा भएको छ’

‘दुर्गा प्रसाईं सरकारकै संरक्षण छन् कि भन्ने आशंका पैदा भएको छ’

केन्द्रबिन्दु
360
Shares

काठमाडौं । वर्तमान व्यवस्थाको विरुद्ध गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको विध्वंसात्मक प्रदर्शनपछि त्यहाँको जनकमाण्डर दुर्गा प्रसाईं आजसम्म पक्राउ नपर्नुले सरकारकै संरक्षणमा रहेको भन्ने आशंका पैदा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले बताएका छन् ।

बिहीबार केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले प्रसाई कै नेतृत्वमा भएको प्रदर्शनमा सहभागीता जनाएका राप्रपाका नेतालाई पक्राउ गरेर हिरासतमा राखी उनीहरुले नगरेको काममा पनि दोषी देखाइ मुद्धा लगाउने सरकारले प्रयास गरेको टिप्पणी गरे ।

‘उहाँ (रविन्द्र मिश्र र धवलशमशेर राण)हरुले गर्दै नगरेको कुरामा दोषी बनाएर मुद्धा लगाउने कोसिस गरिएको छ । उहाँहरुले ढुङ्गा हान्या हो र ? उहाँहरुले तोडफोड गर्या हो र ? उनीहरुलाई उपस्थित भएको भरमा गिरफ्तार गर्ने ? यो राज्यले चालेको कदम गलत छ । गैर कानुनी ढङ्गबाट उहाँहरुलाई थुनामा राखेको छ,’ उनले भने, ‘हामीहरुको साथीहरुलाई मात्रै समात्यो सरकारले दुर्गा प्रसाईलाई समातेको छैन । जसरी प्रसाईंलाई अहिलेसम्म पक्राउ गरेको छैन, कहीँ उनीहरको मिलेमतो त छैन ? प्रसाईं सरकाकै संरक्षणमा छ कि भन्ने पनि शंका उत्पन्न भएको छ ।’

‘प्रदर्शनमा जसरी राष्ट्रिय गान बजिरहेको वेला टियरग्यास प्रहार भएको छ । जसरी प्रदर्शनकारीलाई उक्साउने कोसिस गरिएको छ । त्यसको जिम्मा राज्यले नै जिम्मा लिनुपर्छ ।’ उनले थपे ।

राजसंस्था पुनस्र्थापनाका लागि जुनसुकैले प्रदर्शन गरेपनि सहयोग गर्ने हेतुले राप्रपाका केही साथीहरु सहभागी भएको पनि उनले प्रष्ट पारे । ‘म पनि त्यो प्रदर्शनमा पुगेँ, यसो हेरे, निरिक्षण गरेर फर्के । म नगएको होइन, गएको हो,’ उनले भने, ‘तर घटना भएको बेला म थिइनँ ।’

‘चैत १५ गतेको घटनाप्रति राप्रपाले खवरदारी गरिरहेकै छ । जुन प्रकारले त्यो दिन दुःखद घटना घटे त्यसप्रति हामी दुखीत छौँ । राजसंस्था पुनस्थापनाका लागि राप्रपाले छुट्टै कार्यक्रम घोषणा गरेको छ । हामी निरन्तर रुपमा भइरहने छ । त्यही कार्यक्रम मार्फत त्यो प्रदर्शनमा सरकारले घटना घटाएको छ ।’ उनले भने ।

त्यसको पनि विरोध गर्नेगरी शाान्तपूर्ण आन्दोलन तयारी राप्रपाको रहेको उनले बताए ।

प्रदर्शनमा भएको क्षति राज्यले नै गरेको भन्ने कुरालाई उनले निकै जोड दिए । ‘प्रदर्शनमा भएको क्षतिमा राप्रपाले चासो दिएकै छ, तर बेखवर छैन । स्टेजमा राष्ट्रिय गान बजाइरहेका वेला टियरग्यास हान्छ भने प्रदर्शनले पारेको क्षतिको राज्यले नै जिम्मा लिनुपर्छ । हामीले होइन ।’ उनले थपे, ‘उनीहरु अन्यायमा परेकाले कार्यवाहक प्रधानमन्त्रीलाई भेटेर छिट्टै रिहाइ गरियोस् भनेको छौँ । आफ्नो बल वुद्धि विवेक लगाएर उहाँहरुलाई बाहिर निकाल्न कोसिस गर्छाै । उहाँहरु अन्यायमा परेका छन् ।’

२ जनाको ज्यान जानेगरी भएको तीनकुनेको राजावादीको आन्दोलनपछि सय बढी प्रदर्शनकारी समातिँदा कमाण्डर भनिएका प्रसाईं भने फरार छन् ।

Logo