काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा सत्तारुढ दल नेकपा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि एमालेका शीर्ष नेताहरुले विकासका बारेमा चर्का भाषण गरे ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले गरेका कामबारे चिन्ता लिन आवश्यक नरहेको बताए ।
युवाहरूको भविष्य सुरक्षित राख्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै एमालेका महासचिव शंकर पोखरेलले आउने बजेट र नीति कार्यक्रम युवामैत्री हुने बताए । उनले राष्ट्रका समस्या पनि एमालेले सम्बोधन गर्ने विश्वास दिलाउने भाषण गरे ।
यस्तै, नेकपा एमालेकी नेतृ तथा काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले एमालेको तारिफ गर्दै विकासका लागि योजना बनाएर काम गर्नुपर्नेमा जोड दिइन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु । स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ । योजना बनाउनु पर्छ ।’ उनले भनिन् ।
उक्त कार्यक्रममा एमालेले गरेका काममा तारिफ त भाषण गर्ने सबै नेताहरुले गरे । तर देशको यथार्थ स्थितिबारे कसैलाई चासो नभएको देखियो । किनभने प्रधानमन्त्री ओलीले मिसन ८४ मा लाग्न आफ्ना कार्यकर्तालाई आह्वान गरे ।
पछिल्लो समय मेयर बालेनको चर्काे आलोचना गर्दै आएकी उपमेयर डंगोलले उक्त कार्यक्रममा पनि बालेनलाई कटाक्ष गर्न बिर्सिनन् । उनले भनिन्, ‘अहिले हामीले देख्छौं । धेरै जनाले स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ । पपुलर बन्नुहुन्छ । पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरुलाई गालि गरेरनै देश बन्छ जस्तो पनि लाग्छ । तर स्टन्ट गरेर देश बन्दैन । देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ । त्यसैले हामी स्टन्ट गर्ने युवा हैनौं । काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं ।’
तर, प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरुले भाषण गर्ने स्टेजको दायाँ पट्टी विजुलीका तार अल्झिएका थिए । तारमात्रै अल्झिएका थिएनन्, फोहोर पनि अल्झिएको थियो। तर त्यतापट्टी कसैको ध्यान गएन । अल्झिएका विजुलीका तारमा आगो लागेर क्षति भएको थुप्रै घटनाहरु भएका छन् ।
भाषणमा गरिने विकास र थथार्थमा देखिने विकासको ज्वलन्त उदाहरण आजको कार्यक्रममा देखिएको दृश्यले प्रष्ट पारेको छ ।





























प्रतिक्रिया