नाउपा र जनमतबीच एकता घोषणा गरिसक्दा पनि वरियतामै असन्तुष्टि !

नाउपा र जनमतबीच एकता घोषणा गरिसक्दा पनि वरियतामै असन्तुष्टि !

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । विगत केही समयदेखि चलिरहेको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । २०७९ सालको आमनिवार्चनपछि नेपालको संसदीय राजनीतिमा उदाएका नाउपा र जनमत पार्टीबीच एकता बैशाख १७ गते हुँदैछ । २०७९ को चुनावका लागि नै गठबन्धन गर्ने भने पनि नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको अडानले सम्भव भएन । लामो समयदेखि पार्टी एकताको पक्रिया अन्यौलमा रहेपनि अन्तः एकताको प्रक्रिया अन्तिम बिन्दुमा पुगेको हाे ।

नयाँ पार्टीको नाम नागरिक जनमत रहने गरी सहमति भएको छ । यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह ढकिया, कलेजी रङ्गमा ढकिया राख्नेगरी पार्टीको झन्डा राख्ने विषयमा लगभग सहमति भइसकेको छ ।

नाउपाका संरक्षक रेशमलाल चौधरी नै नागरिक जनमतका संरक्षक रहने सहमति भएको जनमतका प्रवक्ता शरद सिंह यादवले बताए । यस्तै, नागरिक जनतमको कार्यकारी अध्यक्षमा जनमतका अध्यक्ष सिके राउत र सहअध्यक्षमा भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रहने टुङ्गो लागेको प्रवक्ता यादवले बताए ।

केन्द्रविन्दु डटकमसँग टेलिफोन संवाद गर्दै उनले भने, ‘पार्टी एकताको पक्रिया अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म नागरिक जनमत पार्टीका लागि अध्यक्षमा सीके राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशमलाल चौधरी रहनेगरि टुङ्गो लागेको छ । अन्य पदाअधिकारीमा पनि टुङ्गो लाग्ने क्रम चलिरहेको छ ।’

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नाउपाले तीन र नाउपाको समर्थनमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । अहिले नाउपासँग प्रत्यक्ष निर्वाचन जितेका चार सांसद भएपनि ‘थ्रेशहोल्ड’ भने कटाउन सकेन ।

प्रत्यक्ष रुपमा १ सीट जितेको जनमतले भने ‘थ्रेशहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बनेको हो । जनमतले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षबाट एक सीट जितेको थियो । जनमत अध्यक्ष राउत सप्तरी(२ बाट निर्वाचित भएका थिए । जनमतले समानुपातिकमा ‘थ्रेशहोल्ड’ कटाएकाले पाँच सीट थपिएका थिए । जनमतका ६ सांसद छन् ।

राष्ट्रिय पार्टी बनेकै कारण पनि नागरिक जनमत पार्टीको अध्यक्षको जिम्मेवारी राउतले पाएका छन् । नाउपाका संरक्षक चौधरीलाई नयाँ दलको अध्यक्षका लागि निवार्चन आयोगले नै चौधरी अनुमति दिएन् । यसकारण चौधरी नयाँ दलको पहिलो वरियतासहित संरक्षक रहने भएका छन् ।

नाउपाकी अध्यक्ष श्रेष्ठ वरियतामै असन्तुष्ट !

नाउपा र जनमतबीच पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुग्दा वरियतामा अध्यक्ष श्रेष्ठ असन्तुष्ट देखिएकी छन् ।

२०७९ को निवार्चनदेखि दुवै पार्टीबीच एकता गर्ने भनिएपनि अध्यक्ष श्रेष्ठकै कारण एकता प्रक्रिया रोकिएको थियो । अन्ततः प्रक्रियाका लागि सहमति भएपनि नागरिक जनमत पार्टीका लागि निर्धारण गरिएको वरियतामा अध्यक्ष श्रेष्ठले असन्तुष्टि जनाएकी हुन्।

वरियताको विषयमा अध्यक्ष श्रेष्ठले जनाएको असन्तुष्टिप्रति लक्षित गर्दै जनमतका प्रवक्ता सिहंले प्रजातान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा असन्तुष्टिहरु आउनु स्वभाविक भएको बताए ।

उनले भने, ‘प्रजातान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा केहि असन्तुष्टि नआउने होइन। असन्तुष्टि छ भने पनि दुईवटै पार्टीले छलफल गरेर मिलाउछौँ । किनभने दुई वटा पार्टी मिल्न लागेका वेला कतिपय पद छोड्नुपर्ने हुन्छ भने कतिपय पद लिनुपर्ने हुन्छ। त्यसकारण असन्तुष्टि पोख्नु कुनै अनौठो मानिएको छैन ।’

श्रेष्ठले नै अध्यक्ष राउतको नेतृत्व मानेर सहअध्यक्षमा बस्न तयार रहेको भनिसकेपछि यो विषयलाई धेरै केलाइराख्न आवश्यक नरहेको उनले बताए ।

नाउपाका संरक्षक चौधरी एकतापछिको नयाँ दलको पनि पहिलो वरीयतासहित संरक्षक, दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष जनमत पार्टीका अध्यक्ष सीके राउत र तेस्रो वरीयतामा संघीय परिषद् अध्यक्षमा वा सहअध्यक्ष रहनेगरी नाउपाकी अध्यक्ष श्रेष्ठलाई राख्ने कार्यदलले टुङ्गो लगाएको थियो ।

पदाअधिकारीका विषयमा खाका तयार, गरियो जिम्मेवारी बाँडफाँड

नागरिक जनमत पार्टी (नाजपा)का लागि पदीय जिम्मेवारी बाँडफाँडसमेत गरिएको छ । नाजपाको अध्यक्षमा राउत, सहअध्यक्षमा श्रेष्ठ र संरक्षकमा चौधरी रहने विषयलाई उल्लेख गर्दै जनमतका प्रवक्ता सिंहले नयाँ पार्टी नाजपाको सचिवालय, केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समिति रहने पनि बताए ।

सचिवालय २५ जना रहने छन् जसमध्ये जनमतका १२ र नाउपाबाट १२ जना रहनेछन् भने एक जना संरक्षकको रुपमा रेशम चौधरी रहने उनले बताए । सिंहका अनुसार केन्द्रीय कार्यकारिणी समिति १०० जनाकाे हुन्छ र ५०/५० जना जनमत र नाउपाबाट नियुक्त गरिन्छ । यस्तै, केन्द्रिय समितिको हकमा पनि ७०० जना रहनेछन्। त्यसमा पनि नाउपा र जनमतबाट ३५०/३५० जना नियुक्त गरिनेछ ।

चितवन मोरङ हुँदै झापासम्म अध्यक्ष राउतले नै हेर्ने र चितवनदेखि कर्णाली हुँदै कञ्चनपुरसम्म संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठले हेर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

यस्तै, पार्टी एकतापछि नागरिक जनमत पार्टीले सात प्रदेशमध्ये ३–३ वटामा दुई पार्टीले नेतृत्व गर्नेछन् । जसमा सदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नाउपाले नेतृत्व गर्ने छ भने कोशी, मधेश र गण्डकी जनमत पार्टीले नेतृत्व गर्नेछ । बागमतीमा भने दुई अध्यक्ष बनाइने गरी छलफल भएको सिंहले बताए ।

Logo