लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्ति सन्देशहरू विश्वका लागि अझै पनि महत्वपूर्ण रहेको बताएका छन्।
लुम्बिनीमा आयोजित २६४९औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिको सन्देश विश्वभर फैलाउनुपर्नेमा जोड दिएका हुन् । उनले बुद्धको जन्म ईशापूर्व ६२३ मा भएको र उनले बुद्धत्व प्राप्त गरेको ३५ वर्षपछि महापरिनिर्वाण भएको स्मरण गराए। उनले बुद्धसम्वत २५६९ औं रहेको र बुद्धजयन्ती २६४९ औं भएको स्पष्ट पारे।
उनले लुम्बिनीको विकासमा सरकारले विशेष ध्यान दिएको र यस क्षेत्रको गुरुयोजनालाई चाँडै पूरा गर्ने प्रयास भइरहेको बताए। उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धिजमको सन्दर्भमा खोज, अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू शान्ति, मानवतावाद र करुणामा आधारित रहेको र यी उपदेशहरू विश्वका लागि अझै पनि सान्दर्भिक रहेको बताए। उनले विश्वमा बढ्दो हिंसा र द्वन्द्वको अवस्थामा बुद्धका शान्ति सन्देशहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।































प्रतिक्रिया