पक्राउ पूर्जी जारी भएको एक वर्षसम्म किन पक्राउ परेनन् एमाले सांसद पन्थी ?

पक्राउ पूर्जी जारी भएको एक वर्षसम्म किन पक्राउ परेनन् एमाले सांसद पन्थी ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । भनिन्छ, न्याय कुनै विलासिता नभई यो दिगो शान्तिको जग हो । न्यायले जनआस्थालाई सबलता प्रदान गर्दछ । राज्यप्रतिको जनविश्वास दरिलो बनाउँछ । तर नेपालमा लामो ईतिहास राख्ने दण्डहिनताको संस्कार अझै सुधारोन्मुख देख्न पाइएको छैन ।

अहिले हामी चर्चा गर्दैछौं, करिब एक बर्षअघि पक्राउ पुर्जी जारी भएका लुम्बिनीका प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थीको । नेकपा एमालेका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद पन्थीलाई पक्राउ गर्न २०८१ असार १२ मै पुर्जी जारी भएको थियो ।

तर, सांसद पन्थी नियमित रुपमै सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएपनि प्रहरीले पक्राउ गर्न भने सकेको छैन। उच्च राजनीतिक पहुँचका कारण उनी पक्राउ नपरेको चर्चा चुलिएको छ ।

सोमबार मात्र पनि लुम्बिनीमा आयोजित बुद्घ जयन्तीको कार्यक्रममा देखिएका पन्थीलाई पक्राउ गर्ने सन्दर्भमा उच्च प्रहरी अधिकारीहरुले समेत अनभिज्ञता प्रकट गर्ने गरेका छन् । उनले सञ्चालन गरेको गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंले खरिद गरेको विद्युतीय सामग्रीको उधारो रकम नतिरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

पन्थी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंका सञ्चालक मध्ये एक हुन् । उनीसँगै अर्का सञ्चालक देवराज खनालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अदालतको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं हुँदै अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

उनीहरुमाथि हाईड्रोपावर कम्पनीको लागि खरिद गरिएको विद्युतीय सामग्रीको उधारो रकम नतिरेको आरोप छ ।

कारोबारका क्रममा २०७३ सालमै विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लि.सँग उधारोमा लिएको १८ लाख ५४ हजार रुपैयाँको विद्युतीय सामग्री मध्ये ५ लाख रुपैयाँ मात्र तिरेको र बाँकी १३ लाख ५४ हजार रुपैयाँ तिराउनका लागि पल्लवी इलेक्ट्रा अदालत पुगेको थियो ।

जिल्ला अदालत मोरङले २०७७ साल मंसिर २३ गते बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । र सो रकम तिर्न नआएपछि गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंका सञ्चालक द्वय पन्थी र खनालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जसलाई पन्थीले छल्दै आएका हुन् ।

Skip This
Skip This
Logo