दाङ । राजीनामाको चर्चा चलेको लुम्बिनी प्रदेश सभा सदस्य सांसद गीता गुरूङ सम्पर्कविहीन भएकी छन् ।
जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ताका अनुसार सांसद गुरुङ्गले सांसद पदको महत्व बुझ्नै नसकेको आरोप लगाउँदै उनी सम्पर्कमा नरहेकी हुन् । गुरुङ २ महिनादेखि बेपत्ता भएको र आफ्नो वा पार्टी कसैको सम्पर्कमा नरहेको उनको भनाइ छ ।
गुरुङका लागि पार्टीले तोकेको स्वकीय सचिवलाई पनि अलपत्र पारेको बताइएको छ।
गुरुङ्ग देश बाहिर गएको सुन्नमा आएको बताउँदै गुप्ताले भने, “यस्ता व्यक्तिहरुलाई सांसद बनाउनु हाम्रो गल्ती हो । खासमा पार्टीको संवैधानिक बाध्यता हो । न त पार्टीमा कुनै योगदान छ, न त जनता प्रतिको उत्तरदायित्व नै बोध गर्न सकेकी छन् । केबल संविधानले तोकिदिएको कलस्टरका आधारमा चयन भएर पदको खिल्ली उडाएकी छन् । जनप्रतिनीधिको रुपमा जनताको आवाज कहिल्यै बन्न सकेकी छैनन् । सभामा उपस्थिती नगण्य छ । पार्टीको बैठकमा उपस्थिती छैन । प्रदेश या केन्द्र समिती काहिँ पनि सम्पर्कमा छैन । सित्तैमा पद पाएर होला महत्व बुझ्न नसकेको । यो हाम्रो गल्ती हो ।”
नेता गुप्ताका अनुसार ‘राजीनामाको पत्र प्राप्त भइसकेको छैन । आफूले मिडियाबाटै थाहा पाएको हो । तर, राजीनामा आए अगाडी बढाउनु भनेर केन्द्रिय निर्देशन आएको छ । जनताका लागि काम गर्न नसक्नेले, जनताको आवाज बन्न नसक्नेले राजीनामा दिनु नै उचित हो । हामी पत्रको प्रतिक्षामै छौँ । आवश्यक कारबाहीका लागि अगाडी बढाइनेछ ।’
जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी सांसद गुरुङ्गको राजीनामाको तस्विर विभिन्न सञ्चार माध्यममा देखिएको छ । उक्त पत्रमा सांसद गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको भनेकी छन् । राष्ट्र र जनताभन्दा माथि केही नभएको तर जनताका लागि काम गर्न नसकिएको पत्रमा स्विकार गरिएको छ । यस्तो अवस्थामा जनताले तिरेको करबाट तलब भता खान उपयुक्त नभएको भन्दै राजीनामा सभामुखसमक्ष लेखेकी छन् ।
राजीनामाको पत्र मिडियामा आएपनि आधिकारीक पुष्टि भइकेको छैन । मिडियामा हल्ला चलेको र पत्र भाईरल भएको देखिए पनि लुम्बिनी प्रदेश सभाको सचिवालयले त्यस्तो कुनै आधिकारीक पत्र प्राप्त नभएको जनाएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले भने “सचिवालयमा त्यस्तो कुनै जानकारी आएको छैन । मैले पनि मिडियामै देखेको हो ।”





























प्रतिक्रिया