काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिएका हुन् ।
उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो ।
“उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ”, उनले भने ।
यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याए । विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए । “सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन । भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ । त्यसतर्फ बजेटले बढी ध्यान पुर्याउनुपर्छ”, गुरुङले भने ।
एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरे ।





























प्रतिक्रिया