धनगढी ।
प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।
धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमले जानकारी दिएकाे छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूहले यसअघि काठमाडौं, बुटबल, विराटनगरलगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ । आउँदो माघ २८ गते नेकपाले काठमाडौंमा दुई लाख नागरिक उतार्ने गरी अहिलेसम्मकै विशाल शक्ति प्रदर्शनको तयारी गरिरहेको छ ।





























प्रतिक्रिया