काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गरेका छन् ।
“उनीहरू खासमा कम्युनिष्ट थिएनन् । उनीहरूले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीबीच एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन्”, अध्यक्ष ओलीले भने ।
(एमाले)को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले थपे, “कम्बोडियामा मेरो रु ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारी रूपमा चलाउन सकेनन् । पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा उनीहरूलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी–विदेशी प्रतिक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ ।”





























प्रतिक्रिया