काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् ।
राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ ।
उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्यो । कानुनी प्रक्रिया नै पूरा नगरी पक्राउ गरिएको हो भन्ने हाम्रो बुझाइ हो ।’
लामिछानेलाई त्रासदीपूर्ण तरिकाले प्रहरीले अपहरण शैलीमा प्रकाउ गरेको घटना विरुद्ध पुनरावेदन दिएपनि सर्वोच्चले त्यसमा खास ध्यान नदिएको उनको आरोप छ ।
उनले भने, ‘पक्राउविरुद्ध पुनरावेदन थियो र त्यो पुनरावेदन सर्वोच्च अदालतले खास ध्यान दिएर हेरेन । २२ गते राति नै त्रासिपूर्ण घटना प्रहरीले गरेर अपहरण शैलीमा पक्राउ गरेर लग्यो । त्यो आवश्यक थिएन । सामान्यतया उच्च अदालतको फैसला, जिल्ला अदालत गएर जिल्लाले प्रहरीलाई लेखेपछि प्रहरीले कार्यान्वयन गर्नुपर्ने हो । तर राज्यले ज्यादती र मानव अधिकार हनन् गर्यो ।’
साथै, लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता देखिएन भन्ने त संसदीय छानविन समितिको प्रतिवेदनमै स्पष्ट गरिसक्दा पनि थुनामा राखिएको छ । तर सहकारीकै अर्बौं रकम अपचलन गरेका व्यक्तिहरु चाँही १०–२० लाख रुपैंयाँ धरौटी राखेर एकदिन पनि प्रहरी कस्टडीमा नबसी बाहिर आउनु राजनीतिक प्रतिशोध नै भएको उनको बझाइ छ ।
उनका अनुसार सभापति भैरहवाबाट काठमाडौंमा स्थानान्तरण गर्ने कुरा पारिवारिक कुरा पनि रहेकाले र पार्टीको सदस्यहरुसँगको भेटघाट वा सल्लाह गर्न सहज हुन्छ भन्ने हिसाबले हुनसक्छ । तर यस विषयमा पार्टीका तर्फबाट केही कुरा भएको छैन ।































प्रतिक्रिया