सदन अवरोध कांग्रेस-एमालेसँगकाे प्रतिस्पर्धा होइन, तर भिजिट भिसामा चुप बस्दैनौं -रास्वपा

सदन अवरोध कांग्रेस-एमालेसँगकाे प्रतिस्पर्धा होइन, तर भिजिट भिसामा चुप बस्दैनौं -रास्वपा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय संसदमा गरेको अवरोधलाई नेकपा एमाले र नेपाली कांग्रेसले विगतमा गरेको अवरोधसँग प्रतिस्पर्धाका रूपमा नहेर्न आग्रह गरेको छ ।

रास्वपाका सह-प्रवक्ता मनिष झाले रास्वपाको मुख्य माग ‘भिजिट भिसा’ प्रकरणमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई कारबाही गर्नु रहेको स्पष्ट पारेका हुन्।

झाले विगतका उदाहरण दिँदै भनेका छन्, “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एमालेले सङ्घीय सदनको ५८ वटा बैठक अवरोध गरेको थियो। कम्युनिस्ट दुई तिहाइ ढलेपछि एमालेले ९ महिनासम्म रोष्टम घेरेर नाराबाजी गरेको थियो। नेपाली काँग्रेसले सहकारीको छानबिनको लागि २ महिनासम्म २२ वटा बैठक अवरोध गरेर कुनै प्रक्रिया अगाडी बढ्न दिएन।”

रास्वपाले जेठ १३ र १४ गते सदन अवरोध गरे पनि १५ गते बजेट प्रस्तुत गर्दा सहजतापूर्वक सहभागी भएको स्मरण गराउँदै उनले यस महिनाको जेठ २०, २१, २२, २३, २५ र २६ गते पनि सदन अवरोध भएको बताए । यद्यपि, उनले रास्वपा एमाले र कांग्रेससँग सदन अवरोधमा प्रतिस्पर्धामा नरहेको र त्यहाँसम्म पुग्न नखोजेको दाबी गरे।

उनले सत्तापक्षको राजनीतिक व्यवहारमा तीन मुख्य समस्या औंल्याएका छन्-

१) वहाँहरूलाई यो समस्या नै हैन झैँ लाग्छ । तसर्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ कार्तिक देखि २०८२ बैशाख सम्म गृह मन्त्रालयलाई भिजिट भिसा प्रकरण वारे ९ पटक पत्राचार गर्दा पनि टेरेनन, अख्तियारले अब छापा मार्दै छ भन्ने थाहा पाए पश्चात् मात्र जागे।

२) “एउटा कर्मचारी समातिएको त हो नि” भन्दै यसमा संलग्न राजनीतिक शक्तिकेन्द्रलाई बचाउन खोज्दै हुनुहुन्छ। राजनीतिक संरक्षण बेगैर १८ वर्ष देखि यस्तो गम्भीर सङ्गठित अपराध सम्भव नै हुँदैन। वहाँहरूले केही लुकाउदै हुनुहुन्छ।

३) “दुई तिहाइ र ठुलो पार्टी” भन्दै, मानव बेचबिखन जस्तो सङ्गठित अपराधको सदाका लागि समाधानको माग राख्दै सदन अवरोधको कुरामा धरी सत्ता गठबन्धनले “यो राजनीतिक पूर्वाग्रह हो” भन्दै, पन्छिन खोजेको र “हामी देश यसरी नै लुट्दै चलाउँदै गर्छौ” भन्ने सन्देश त दिन खोजेको हैन ?

वर्तमान गठबन्धनलाई भन्दा रास्वपालाई सदन बढी आवश्यक रहेको पनि उनकाे भनाइ छ ।

साथै झाले भनेका छन्, “सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको संगठित अपराधको प्रकरणबारे यति धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आएपश्चात् पनि चुप लागेर बस्न सक्दैनौं, बस्दैनौं।”

Logo