मिडियालाई धम्काएको आरोपबारे परराष्ट्रमन्त्री राणा भन्छिन्- सुझाव दिएकी हुँ

मिडियालाई धम्काएको आरोपबारे परराष्ट्रमन्त्री राणा भन्छिन्- सुझाव दिएकी हुँ

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाचारको विषयलाई लिएर आफूले धम्की दिइएको भन्ने आरोपका विषयमा आश्चर्य व्यक्त गरेकी छन्। नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्क्याएको भनी ‘नागरिक दैनिक’ मा प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएकी हुन् ।

मन्त्री राणाका अनुसार ज्ञवालीसँगको टेलिफोन कुराकानी आफ्नो परिवारलाई बदनाम गराउने मनसायले सामाजिक सञ्जालमा आएको एउटा तथ्यहीन र भ्रामक भिडियो तथा त्यसको कानुनी निरूपणबारे केन्द्रित थियो। उनले सो भ्रामक भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभएकाले प्रेस काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिल्ने भएकोले आफूहरूले राज्यको कानुनअनुसार नै न्याय खोजेको स्पष्ट पारेकी छन्।

“उक्त भ्रामक भिडियो पोस्ट गर्नेविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ र कानुनले जे सजायँ दिन्छ, हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो। यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ,” मन्त्री देउवाले भनेकी छन्।

मन्त्री देउवाले आफू ‘न्युयोर्क टाइम्स’ जस्तो मिडियाको नियमित पाठक रहेको र ‘नागरिक दैनिक’ जस्तो सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको दाबी गरेकी छन्।

“हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ,” उनले थप प्रष्ट्याएकी छन् ।

मन्त्री देउवाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेसले गरेको सङ्घर्षलाई कसैले बिर्सन नमिल्ने बताउँदै आफू सोही पार्टीको जिम्मेवार सदस्य भएकाले प्रेस स्वतन्त्रता बारे राम्ररी जानकारी रहेको उल्लेख गरिन्।

उनले भनेकी छन्, “मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन।” लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

“स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाइ हो। यसैका आधारमा राखिएका कतिपय धारणाहरूलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दुःखद् हो,” मन्त्री देउवाले भनिन् ।

Skip This
Skip This
Logo