अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिएको बताए ।

“गतल तरिकाबाट मान्छे गएको थाहा पाए त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागेदार हुनेछ”, मन्त्री लेखकको भनाइ उदृत गर्दै प्रवक्ता तिवारीले भने, “शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।”

मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न जोड समेत दिए । “कर्मचारी आचरण सुधार हुनुपर्‍यो”, उनले भने, “अध्यागमनको कागजात, तथ्याङ्कदेखि हरेक कुराको रेकर्डका लागि डिजिटल प्रणाली स्तरोन्नति गर्न आग्रह गर्छु ।”

बैठकमा अध्यागमनको सुधारका लागि एक महिनायता भएको प्रयास र पहलकदमीका विषयमा मन्त्री लेखकले जानकारी लिएका थिए ।

“एक महिनामा सुधारका के–के काम अघि बढे त्यो विषयमा पनि जानकारी मन्त्री ज्यूले लिनुभयो”, प्रवक्ता तिवारीले भने, “अध्यागमनको छविदेखि संरचनागत सुधारमा जोड दिनुभयो ।”

Logo