जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको मंगलबार समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न आउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बताए । उनले यसका लागि प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री सिंहले जनकपुरधाम आउने पर्यटकहरुलाई कम्तिमा ५ दिनसम्म मधेश प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरु घुमाउने गरी प्याकेज बनाएर राख्नुपर्ने बताए ।
मुख्यमन्त्री सिंहले भारतीय नागरिकहरुलाई भन्सार तिर्न डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने सरकारसंग माग गरे । भारतीय पर्यटकहरुको सहजताका लागि डिजिटल माध्यमबाट नेपालको जुनसुकै कुनाबाट आफ्नो सवारी साधनको भन्सात तिरेर थप केही दिन नेपाल घुम्न सक्ने किसिमको सुविधा सरकारले ल्याउनु पर्ने मुख्यमन्त्री सिंहले उल्लेख गरे ।
त्यस्तै, मुख्यमन्त्री सिंहले धनुषाधाममा रामायणमा चर्चा भएका १३६ वटा बोट विरुवाहरुलाई एकै ठाउमा राखेर धनुषाको धनुषाधाममा रामायणवाटिका निर्माण गर्न लागेको जानकारी समेत दिए ।





























प्रतिक्रिया