काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफूले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।
अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानित गरेको थियाे ।
घिसिङले १८ घण्टासम्म लोडसेडिङ भएको बेला सबैको सहयोगले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सम्भव भएको स्मरण गरे । ‘जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु-यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं । व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,’ उनले भने ।
एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले बताए ।
‘सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरुको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ । तपाईं सबैको साथको लागि अनुरोध गर्छु,’ घिसिङले भने । ‘आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ ।’





























प्रतिक्रिया