काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज मतदान हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ। नामावलीमा दाबी–विरोध गर्न बिहान ८ः३० देखि ९ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११ः३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ। अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।
मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकमा मत विभाजन हुँदा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका थिए । लामाको विपक्षमा २२ मत पर्दा पक्षमा १५ मत मात्र परेको थियो । लामाको संसदीय दल नेताको हैसियत गुमेसँगै अब ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै बागमतीको मुख्यमन्त्री हुने ढोका खुलेको छ । बानियाँ बागमती प्रदेश कांग्रेस सभापति हुन् । २१ जना सांसद आफ्ना पक्षमा खुलेकोले आफू संसदीय दल नेता हुँदै मुख्यमन्त्री हुनेमा उनी ढुक्क देखिन्छन्। किनकी संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।































प्रतिक्रिया