रवि लामिछानेलाई तत्काल भैरहवाबाट काठमाडौं‌ सारियोस् -राजेन्द्र लिङ्देन

रवि लामिछानेलाई तत्काल भैरहवाबाट काठमाडौं‌ सारियोस् -राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल भैरहवा कारागारबाट काठमाडौँको जेलमा सार्न माग गरेका छन्।

मंगलबार भैरहवा कारागार पुगेर लामिछानेसँग भेट गरेपछि लिङ्देनले कारागारको सुविधा र सुरक्षामाथि प्रश्न उठाउँदै सरकारसँग यस्तो माग गरेका हुन्।

लिङ्देनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गर्दै भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको बताएका छन्। उनले भनेका छन्, “देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको छ।”

भेटका क्रममा लामिछाने र लिङ्देनबीच स्वास्थ्य, राष्ट्रिय राजनीति, संसद्को गतिविधि र रुपन्देहीमा हुन लागेको उपनिर्वाचन लगायतका विषयमा कुराकानी भएको जनाइएको छ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछाने गत चैत २२ गतेदेखि भैरहवा कारागारमा छन्।

Logo