काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालले एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि फौजदारी मुद्दा दर्ता गर्नुपर्ने भनेर भइरहेको प्रचारलाई राजनीतिक प्रतिशोध र अराजक अभियानका रूपमा व्याख्या गरेका छन्।
रिजालले समाजिक सन्जालमार्फत भदौ २३ र २४ गतेका घटनालाई “दुःखद्, दुर्भाग्यपूर्ण र अनपेक्षित” भएको र त्यसको राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीका रूपमा ओलीले वहन गरिसकेको र त्यसका कारण उनले ठूलो राजनीतिक मूल्य पनि तिरेको बताएका हुन् ।
उनका अनुसार यस्तो घटनामा राजनीतिक जिम्मेवारी त लाग्न सक्छ, तर फौजदारी अभियोग लगाउने औचित्य हुँदैन । “यदि राजनीतिक असफलतामै फौजदारी मुद्दा चलाउने हो भने बाढीपहिरोमा ५३ नागरिकको मृत्यु भएको बेला न्यायाधीश सुशीला कार्कीमाथि पनि मुद्दा चलाउनुपर्ने हुन्छ कि?” भन्दै प्रश्न समेत उठाएका छन् ।
ओलीले छानबिनको माग स्वयं अघि बढाएको, गोली चलाउन कुनै आदेश नदिएको र घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिरहेको स्मरण गराउँदै उनले “पूर्वाग्रही छानबिन र आरोपको राजनीति देशलाई विदेशी परेडस्थलमा परिणत गर्छ” भनेका छन्। रिजालका अनुसार राजनीतिक नेतृत्वको मूल्याङ्कन राजनीतिकै माध्यमबाट हुनुपर्छ, फौजदारी अभियोगको बाटोबाट हुनु गलत हुने उल्लेख गरेका छन् ।
उनले विगतका परिवर्तनका उदाहरण दिँदै कुनै पनि व्यवस्था परिवर्तनपछि अघिल्ला कार्यकारीमाथि कानुनी कारबाही नहुने परम्परा रहेको उल्लेख गरे। उनले कार्की आयोग पूर्वाग्रही रहेको आरोप लगाउँदै सबै पक्षलाई धैर्यपूर्वक तथ्यमा आधारित बहस गर्न आह्वान गरेका छन्।
उनले ऐतिहासिक उदाहरण उद्धृत गर्दै २०३० मा सिंहदरबार जलेपछि कीर्तिनिधि विष्ट, ०५८ मा सेना परिचालन हुन नमान्दा गिरिजाप्रसाद कोइराला, र ०६७ मा सेनापति हटाउन नसक्दा पुष्पकमल दाहालले राजीनामा दिएका थिए, तर तिनलाई अपराधी नभनिएको उल्लेख गरेका छन् ।





























प्रतिक्रिया