काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनबाट पार्टीको नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ पछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेर केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, “घरमा सधैं एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन ।”
देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउँदै थपे, “जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन।”
यसका साथै, देउवाले देशमा उत्पन्न संकटको वर्तमान अवस्थामा पार्टीभित्र व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व र असहमतिलाई थाती राखेर एकजुट हुन सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले “नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो” भन्दै व्यक्तिगत रुची–अरुची वा लाभ–हानीका सबै विषय गौण भएको बताए।
उनले विषयवस्तुमा व्यापक छलफल गरी एकमतका साथ निर्णयमा पुग्न र ठोस ढंगले कार्यान्वयन गर्न पनि आह्वान गरे।





























प्रतिक्रिया