माओवादी आन्दोलनले उठाएका मुद्दाहरु र जेन जीका मागहरु समान छन् -प्रचण्ड

माओवादी आन्दोलनले उठाएका मुद्दाहरु र जेन जीका मागहरु समान छन् -प्रचण्ड

केन्द्रबिन्दु
9
Shares

चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलन र जेन जीका मुद्दाहरु प्राय समान रहेको बताएका छन् ।

बिहीबार चितवन जिल्ला पार्टी कार्यालयमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन जी का मुद्दाहरु नेकपा माओवादीले २०६४ सालको निर्वाचन अगाडि देखिनै उठाउँदै आएको बताएका हुन् । हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा प्रचण्डले स्पष्ट धारणा राखेका छन् ।

उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए । उनले भने, ‘युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।’

संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरवाही’ लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे ।

उनले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’ त्यसको जिम्मा तत्कालिन सरकारले लिनुपर्ने समेत प्रचण्डको भनाई छ ।

Logo