अध्यक्ष ओलीले एमालेभित्र अनुशासन कायम गर्न नसकेको भन्दै गरे आत्मालोचना

अध्यक्ष ओलीले एमालेभित्र अनुशासन कायम गर्न नसकेको भन्दै गरे आत्मालोचना

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गरेका छन् । शुक्रबार सम्पन्न पार्टीकाे दशौँ केन्द्रीय कमिटी बैठकमा उनले आफ्ना धारणा प्रस्तुत गर्दै पार्टीमा देखिएका कमीकमजोरीहरू स्वीकार गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन, अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।’

उनका अनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ । उनले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिने गरी गालीगलौज चाहिँ कसैले नगरौँ।’

उनले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता औँल्याए । उनले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविक भन्दै त्यसलाई संगठनात्मक सिष्टता भित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।’

बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणी गर्दै आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेका आरोप लगाए । उनले भने, ‘यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।’

अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी चरणमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राखे ।

Logo