काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
राजनीतिक दलहरूसँग मंगलबार भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन् , “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।”
राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन् । “चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,” उनले भनिन् ।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अधिकांश दलका नेताहरुले शान्ति सुरक्षाको यथेष्ठ प्रत्याभूति नभएको, सुरक्षा निकायमा आत्मविश्वास नदेखिएको तथा आमनागरिकमा पनि निर्वाचन हुन्छ भन्ने विश्वास नभएको सम्बन्धमा धारणा राखेको जानकारी दिए । साथै उनले यस्तो अवस्थामा निर्वाचनमा जाने हो भने सरकारको सम्पूर्ण ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने, शान्ति सुरक्षाको सम्पूर्ण रुपमा प्रत्याभूति गर्नुपर्ने र सरकारकै कतिपय अभिव्यक्तिले आपसी विश्वास खलबल्याउने तर्फ सजग हुनुपर्ने सुझाव दिएको बताए ।
प्रवक्ता डा महतले विश्वास दिलाउने काम सरकारको भएको र यो सरकारको म्याण्डेट नै निर्वाचन भएको बताउँदै निर्वाचनमार्फत मुलुकको राजनीतिलाई मूलप्रवाहमा फर्काउन कांग्रेस निर्वाचनमा जान तयार रहेको बताए । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए ।































प्रतिक्रिया