काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यतिबेला मुलुकको स्थिति निक्कै जटिल भएको बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले भदौ २३, २४ का घटनाले देशको अवस्था निक्कै जटिल बनाएको बताएका हुन् । उनले भने, ‘यतिबेला राष्ट्रिय राजनीति अत्यन्त अस्थिर, असामान्य र तरल अवस्थामा छ, खासगरी भदौ २३, २४ का घटनाले नेपाल राष्ट्रको जीवनमा असाधारण क्षति पुर्याएको छ, र नेपाल राष्ट्रको मनोविज्ञानलाई नकारात्मक असर परेको छ।’
पोखरेलले अहिलेका प्रमुख राजनीतिक दलहरू आन्दोलनकारीको माग समेत सम्बोधन गर्ने गरी जिम्मेवारीपूर्वक मुलुकलाई सामान्य अवस्थामा फर्काउन संविधान र प्रतिनिधि सभाभित्रबाट नै समस्या समाधान गर्न सक्ने भए पनि अवस्था फरक बनेको बताए। उनले प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक व्यवस्था विपरित प्रतिनिधि सभा विघटन गरेको उल्लेख गरे।
पोखरेलले जेनजीको नाममा पश्चिमी पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताए । यसका कारण देश असामान्य अवस्थामा प्रवेश गरेको उनले बताए।
‘जेनजीका माग सरकारले पूरा गर्न सक्ने खालका छन्, तर उनीहरूको माग सरकारसमक्ष पुग्न सकेको छैन र आन्दोलन कसले परिचालन गरिरहेको थियो भन्ने कुरा सरकारले थाहा पाउन सकेको छैन।’ उनले भने ।
पोखरेलका अनुसार, माग पूरा गर्नेभन्दा पनि परिस्थितिलाई आफ्नो अनुकूल प्रयोग गर्न त्यो काम गरिएको तथ्यले पुष्टि गरेको छ।





























प्रतिक्रिया